झापा–५ मा धर्मको राजनीतिः ओली पुराणमा, बालेन पत्नी चर्चमा — मतदातामाथि आस्थाको खुला व्यापार
दमक — प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार अझै सुरु भइसकेको छैन, तर झापा–५ मा चुनावी तापक्रम यतिसम्म बढिसकेको छ कि गाउँका चिया पसलदेखि धार्मिक स्थलसम्म राजनीति नै मुख्य बहस बनेको छ।
निर्वाचन आयोगले प्रचारका लागि समयसीमा तोके पनि नेताहरूले त्यसको वास्ता नगरी ‘अप्रत्यक्ष अभियान’को नाममा मतदाताको मन जित्ने दौड सुरु गरिसकेका छन्। यो क्षेत्र यतिबेला एजेण्डा र विकासभन्दा बढी धर्म, भावनात्मक कार्ड र शक्ति प्रदर्शनको प्रयोगशाला बनेको देखिन्छ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुराण र धार्मिक अनुष्ठानमा देखिन थालेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका बष्ठि नेता बालेन्द्र साह (बालेन) स्वयम् अनुपस्थित रहँदा उनकी पत्नी सविना काफ्ले चर्चमा प्रार्थना गरिरहेकी भेटिन्छिन्। एउटाले हिन्दु धार्मिक आस्थाको सहारा लिइरहेका छन्, अर्काले इसाई समुदायको समर्थन खोजिरहेका छन्। मतदाता भने प्रश्न गरिरहेका छन— यो चुनाव हो कि आस्था कब्जा गर्ने प्रतिस्पर्धा?
शनिबार दमक–३ को ढुकुरपानीस्थित सुकुम्बासी बस्तीमा रहेको ज्योती चर्चमा बालेनपत्नी सविनाको नेतृत्वमा रास्वपाको टोली पुगेको दृश्यले स्थानीयलाई चकित बनायो। ३०–४० जनाको समूह चर्चभित्र प्रवेश गरेर बालेनको जितका लागि सामूहिक प्रार्थना ग¥यो। चर्चकी पास्टरले सार्वजनिक रूपमा ‘बालेन साहको विजय घोषणा’ गरिन्। धार्मिक मञ्चबाट गरिएको यस्तो ‘विजय घोषणा’ चुनावी आस्था कि राजनीतिक रणनीति भन्ने प्रश्न त्यहीँ उठ्यो।
चर्चबाट बाहिरिएपछि टोली सिधै सुकुम्बासी बस्ती पस्यो, मतदातालाई ‘यस पटक परिवर्तन गर्नुपर्छ’ भन्दै आग्रह गरियो। तर बालेनपत्नी सविनाले नमस्कारबाहेक संवाद नगरेको देख्दा कतिपय स्थानीय असन्तुष्ट सुनिए। ‘भोट माग्न आफैं नआएर श्रीमती पठाउनेलाई किन भोट दिने?’ भन्ने गुनासो खुला रूपमा आयो।
त्यसैबीच, अर्को कुनामा एमाले अध्यक्ष ओली धार्मिक अनुष्ठानमा व्यस्त थिए। कमल गाउँपालिकामा आयोजित पुराणमा सहभागी भएर उनले धर्म, संस्कृति र सनातन परम्पराको रक्षा गर्नुपर्ने प्रवचन दिए। अघिल्ला चुनावमा सभा–समारोहमा सीमित ओली यस पटक चोक–चोकमा नमस्कार गर्दै हिँडिरहेका छन्।
उनी खुलेर मत माग्दैनन्, तर ‘देश बनाउने अभियान’को भावनात्मक अपिल गर्छन्। आलोचकहरू भने यसलाई मतदाताको धार्मिक संवेदनामा खेल्ने पुरानो शैली भन्दै टिप्पणी गरिरहेका छन्।
दुवै शीर्ष नेता फरक धर्म–समुदायको आड लिँदै मत तान्न खोजिरहेको दृश्यले झापा–५ को चुनावलाई विकास र नीतिभन्दा भावनात्मक ध्रुवीकरणतर्फ धकेलेको संकेत गर्छ। धर्मस्थलहरू राजनीतिक स्टेजमा परिणत भइरहेका छन्। प्रश्न उठ्छ— मतदाता नागरिक हुन् कि धार्मिक समूहमा विभाजित मत–बैंक?
यता नेकपाका रञ्जीत तामाङ र काँग्रेसकी मन्धरा चिमरिया भने तुलनात्मक रूपमा शान्त शैलीमा घरदैलोमा देखिन्छन्। तामाङ ग्रामीण बस्तीमा पुगेर आफू स्थानीय र युवा प्रतिनिधि भएको दाबी गर्दैछन्। ओलीको विकल्प आफू मात्र भएको उनको तर्क छ। चिमरिया सामाजिक कामको अनुभव सुनाउँदै मतदाता भेट्दैछिन्। तर यी उम्मेदवारहरूको आवाज मुख्य प्रतिस्पर्धी ओली–बालेनको चर्चामा हराइरहेको छ।
ग्रामीण क्षेत्रमा भने अर्को रोचक चित्र देखिन्छ। कतिपय एमाले समर्थकसमेत ‘यस पटक ओलीलाई हराउनुपर्छ’ भन्दै घण्टीतर्फ झुकिरहेका छन्। अर्कोतर्फ एमाले कार्यकर्ता ‘देशमा आगो लगाउनेलाई जित्न दिँदैनौँ’ भन्दै प्रतिकारमा छन्। मतदाता विभाजित मात्र छैनन्, आक्रामक पनि बन्दैछन्। राजनीतिक बहस कहिलेकाहीँ व्यक्तिगत झगडामा रूपान्तरण हुने स्थिति देखिन्छ।
झापा–५ मा अहिले चुनावी मैदानभन्दा बढी मनोवैज्ञानिक युद्ध चलिरहेको छ। धर्म, सहानुभूति, परिवर्तनको नारा र ‘विकल्प’को भ्रम बेचेर मतदाता प्रभावित पार्ने खेल तीव्र छ। तर सुकुम्बासीको जग्गा पुर्जा, खानेपानी, रोजगारी, सडक र शिक्षा जस्ता वास्तविक मुद्दा भने भाषण र प्रार्थनाबीच हराइरहेका छन्।

