बालेन सरकारलाई गगनको खुला चुनौती : ‘गल्ती गरे पाँच मिनेट पनि चुप लागिँदैन’
काठमाडौँ– प्रधानमन्त्री बालेन नेतृत्वको सरकारलाई नेपाली कांग्रेसका सभापति गगन थापाले स्पष्ट सन्देश दिएका छन– सरकार पाँच वर्ष चलोस्, त्यसमा आफ्नो समर्थन रहन्छ, तर सरकारका नाममा गलत काम गर्ने छुट कसैलाई छैन। सरकारले गल्ती गरे आफूहरू चुप लागेर नबस्ने र आवश्यक परे प्रतिवादमै उत्रिने उनको चेतावनी छ।
कांग्रेसको आधिकारिकता प्राप्त गर्न आर्थिक चलखेल गरेको भन्ने आरोप अस्वीकार गर्दै थापाले सरकारसँगको सम्बन्धबारे पनि आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनको अभिव्यक्तिले बालेन सरकारलाई दिएको पाँचवर्षे म्यान्डेटको सम्मान र सरकारका निर्णयमाथि निरन्तर निगरानी तथा प्रश्न गर्ने कांग्रेसको घोषित नीतिबीचको भिन्नता प्रस्ट पारेको छ।
थापाले सरकारलाई पाँच वर्ष काम गर्न दिने कुरामा कुनै द्विविधा नरहेको बताए पनि त्यसको अर्थ सरकारका हरेक निर्णयमा मौन समर्थन नरहेको स्पष्ट पारे। उनका अनुसार सरकारको कार्यकालप्रति सम्मान गर्नु र सरकारका गलत कामको विरोध गर्नु फरक विषय हुन्।
‘यो सरकार पाँच वर्षका लागि आएको हो, फाइभ इयर्सको म्यान्डेट छ । त्यसलाई हामी सम्मान गर्छौं। तर, सरकारले राइट कुरामा फोकस गरोस्,’ थापाले भनेका छन्। सरकारलाई पाँच वर्षको म्यान्डेट दिइएको भन्दैमा पाँच वर्षसम्म उसले जे गरे पनि प्रतिपक्षले सहेर बस्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ। सरकारलाई काम गर्न दिने तर गलत निर्णयको जवाफदेहिता खोजिरहने उनको सन्देश छ।
थापाले सरकारको प्राथमिकतामाथि समेत प्रश्न उठाएका छन्। उनका अनुसार अहिले सरकारको ध्यान सत्ता, शक्ति र राजनीतिक प्रतिशोधमा भन्दा विपद्बाट प्रभावित नागरिकको पुनर्स्थापना, भूमिहीन तथा सुकुम्बासीको व्यवस्थापन र आर्थिक गतिविधि बढाउन केन्द्रित हुनुपर्छ।
उनले विपद्का कारण घरबारविहीन भएका नागरिकको अवस्था र खुला ठाउँमा बस्न बाध्य सुकुम्बासीको पुनर्स्थापनालाई सरकारको प्राथमिकतामा राख्नुपर्ने बताए। त्यस्तै, रोजगारी सिर्जना र लगानी भित्र्याउने विषयमा पनि सरकारसँग जवाफ मागे। ‘सबैभन्दा ठूलो कुरा इकोनोमी छ, खोइ जब्स ? खोइ इन्भेस्टमेन्ट ?’ भन्दै उनले सरकारको आर्थिक प्राथमिकतामाथि प्रश्न उठाए।
थापाको अभिव्यक्तिमा सरकारप्रतिको असन्तुष्टि आर्थिक व्यवस्थापनमा मात्र सीमित छैन। उनले लोकतान्त्रिक अधिकार खुम्च्याउने र राज्यका संस्थाहरूलाई कमजोर बनाउने गतिविधि स्वीकार्य नहुने चेतावनीसमेत दिएका छन्। ‘डेमोक्र्याटिक राइटलाई खुम्च्याउने कुरा, हाम्रा संस्थाहरूलाई कमजोर बनाउने कुरा हुँदै गर्दा हामी मुकदर्शक भएर बस्दैनौँ, बोल्छौँ। क्वेस्चन गर्छौं, प¥यो भने प्रतिवाद गर्छौं, किनकि त्यो हाम्रो ड्युटी हो,’ उनले भनेका छन्।
उनको यो अभिव्यक्ति पछिल्लो समय सरकार र नेपाली कांग्रेसबीच बढिरहेको राजनीतिक तनावको पृष्ठभूमिमा आएको हो। इनम सापकोटाको नाम जोडिएको सार्वजनिक अडियो, त्यसमा कांग्रेस सभापति थापामाथि लगाइएको आर्थिक लेनदेनको आरोप र त्यसपछि विकसित राजनीतिक घटनाक्रमले विवाद चर्किएको छ।
सार्वजनिक अडियोमा थापाले कांग्रेसको आधिकारिकता प्राप्त गर्न १८ करोड रुपैयाँ खर्च गरेको दाबी गरिएको छ। तर उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि भएको छैन। थापाले आफूले कुनै आर्थिक चलखेल नगरेको भन्दै आरोप पुष्टि गर्न चुनौती दिएका छन्। कांग्रेसले पनि यस प्रकरणलाई सरकारसँग जोडिएको राजनीतिक षड्यन्त्रको संज्ञा दिँदै निष्पक्ष छानबिनको माग गरेको छ।
यही विवादका बीच थापाले सरकारमाथि प्रश्न उठाउन थालेपछि आफूविरुद्ध योजनाबद्ध रूपमा नकारात्मक भाष्य निर्माण गर्न खोजिएको आरोपसमेत लगाएका छन्। उनले आफूले विगतमा पनि आफ्नै पार्टीको सरकार हुँदा गलत कामको विरोध गरेको स्मरण गराउँदै अहिलेको सरकारसँग प्रश्न गर्दा त्यसलाई राजनीतिक प्रतिशोध वा सरकार ढाल्ने अभियानका रूपमा व्याख्या गर्न नमिल्ने बताएका छन्।
‘हामीले जतिखेर सरकारमाथि क्वेस्चन उठायौँ, ठ्याक्कै त्यही बेलाबाट एउटा म्यानुफ्याक्चर्ड न्यारेटिभ सुरु भएको छ। के यसले हामीलाई क्वेस्चन गर्ने कुरा बन्द हुन्छ ? हुँदैन,’ उनले भने। थापाले आफ्नो राजनीतिक अडानको आधार नै नैतिकता र स्वच्छता भएको दाबी गरेका छन्। आफू आर्थिक वा नैतिक रूपमा कमजोर भएको भए शक्तिशाली सत्तासँग लड्ने आँट नआउने उनको तर्क छ।
‘मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन। मेरो हात सफा छ, माइ ह्यान्ड्स आर क्लिन,’ उनले भनेका छन्। उनले आफूविरुद्ध विगतमा पनि विभिन्न आरोप र प्रायोजित भाष्य निर्माण गरिएको दाबी गर्दै त्यस्ता घटनाले आफ्नो राजनीतिक अडान कमजोर नबनाएको बताए। ‘जब–जब मैले अलि बलियो सत्तासँग प्रश्न गरेको छु, लडेको छु, यस्ता कुनै न कुनै प्रायोजित, म्यानुफ्याक्चर्ड न्यारेटिभ मेरो वरिपरि ल्याइएको छ। तर, प्रत्येकपटक लडेर आएँ नि म, प्रत्येकबाट बाँचेर आएँ नि म, ढलिनँ नि म,’ थापाले भने।
थापाको पछिल्लो अभिव्यक्ति सरकारलाई पाँच वर्ष काम गर्न नदिने संकेत होइन, बरु पाँच वर्षको म्यान्डेटलाई सरकारको निरंकुश अधिकारका रूपमा बुझ्न नहुने चेतावनी हो। उनले सरकारलाई काम गर्न सहयोग गर्ने तर लोकतान्त्रिक अधिकार, संस्थागत स्वतन्त्रता, आर्थिक व्यवस्थापन र नागरिकको पुनस्र्थापनामा कमजोरी देखिए निरन्तर प्रश्न गर्ने नीति सार्वजनिक गरेका छन्।
यसअघि पनि थापाले कांग्रेसलाई प्रमुख प्रतिपक्षको भूमिकामा सक्रिय बनाउने संकेत गर्दै सरकारका निर्णयमाथि निगरानी र आवश्यक परे प्रतिवाद गर्ने बताएका थिए। अर्थात्, बालेन सरकारको पाँचवर्षे कार्यकाललाई कांग्रेसले सम्मान गर्नेछ, तर सरकारका पाँच वर्षलाई प्रश्नविहीन पाँच वर्ष बन्न दिने छैन। थापाको पछिल्लो सन्देशको सार यही हो।

