माईतमा बसेकी श्रीमतीलाई ‘कुरा गर्नु छ’ भन्दै आँपको बगैँचामा बोलाएर छुरा प्रहार, श्रीमान् होटलबाट पक्राउ

सिमरा — घरायसी विवादलाई लिएर श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका बाराका एक पुरुष दुई दिनपछि वीरगन्जको होटलबाट पक्राउ परेका छन्। माइतीमा बस्दै आएकी श्रीमतीलाई ‘कुरा गर्नु छ’ भन्दै नजिकैको आँपको बगैँचामा बोलाएर शरीरका विभिन्न भागमा छुरा प्रहार गरी फरार भएका श्रीमान्लाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा फेटा गाउँपालिका–७ जोतपुर गमरियाका २८ वर्षीय अलियास अन्सारी छन्। उनलाई बिहीबार दिउँसो वीरगन्ज महानगरपालिका–१६ स्थित एउटा होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीका अनुसार अन्सारीले मंगलबार बिहान जितपुरसिमरा उपमहानगरपालिका–२० कञ्चनपुरस्थित ससुराली पुगेर २५ वर्षीया श्रीमती गुल्सान अन्सारीलाई भेटेका थिए। त्यसबेला गुल्सान माइतीमै बस्दै आएकी थिइन्।

श्रीमतीसँग कुरा गर्नुपर्ने भन्दै अन्सारीले उनलाई नजिकैको आँपको बगैँचामा बोलाएका थिए। त्यहाँ पुगेपछि उनले गुल्सानमाथि छुरा प्रहार गरेको प्रहरीको भनाइ छ। शरीरका विभिन्न भागमा छुरा प्रहारबाट गम्भीर घाइते भएकी गुल्सानलाई घटनालगत्तै आफन्तले उपचारका लागि अस्पताल पुर्‍याएका थिए।

सुरुमा उनलाई वीरगन्जस्थित नारायणी अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि वीरगन्ज हेल्थ केयर अस्पताल सारिएको हो। हाल उनको आईसीयूमा राखेर उपचार भइरहेको बाराका प्रहरी प्रवक्ता एवं डीएसपी मिनबहादुर घलेले जानकारी दिएका छन्।

घटनापछि फरार भएका अन्सारीको खोजीमा प्रहरी परिचालन गरिएको थियो। खोजी गर्ने क्रममा उनी होटलमा लुकेको अवस्थामा फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ।

घरायसी विवादका कारण भएको भनिएको यो घटनामा श्रीमतीमाथि छुरा प्रहार गर्नुको विस्तृत कारण, घटनाको पृष्ठभूमि र अन्य परिस्थितिबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट