बालेन–रविसँगको फोटोमा पुरस्कार बाँड्ने सांसद विवादमा ! सरिनको कटाक्ष ‘चाकडीको कुपन’, गेलालको जवाफ ‘दिमाग चेक गराऊ’
काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र साह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र सांसदहरूसँग खिचिएका फोटो तथा भिडियोको प्रतियोगिता घोषणा गरेपछि उदयपुर–१ का सांसद पारसमणि गेलाल पार्टीभित्रै विवादमा तानिएका छन्। प्रतियोगिताको आलोचना गर्दै कोशी प्रदेशकी पूर्वकार्यवाहक सभापति सरिन तामाङले सामाजिक सञ्जालमा प्रश्न उठाएपछि दुई नेताबीच आरोप–प्रत्यारोप चलिरहेको छ।
विवाद प्रतियोगिताको औचित्यमाथिको प्रश्नबाट सुरु भए पनि केही समयमै सांगठनिक योगदान, नेताहरूसँगको निकटता, प्रदेश अधिवेशनमा पदको प्रस्ताव, चुनावी टिकट र व्यक्तिगत सम्बन्धका प्रसंगसम्म पुगेको छ। दुवै पक्षले सामाजिक सञ्जालमै एकअर्कामाथि गम्भीर आरोप लगाएका छन्।
सरिनले गेलाललाई संगठनमा मेहनत गरेर नभई शीर्ष नेताहरूको चाकडी गरेर अवसर पाएको आरोप लगाएकी छिन्। जवाफमा गेलालले सरिनमाथि गुटबन्दी, पदको लोभ र घमण्डको आरोप लगाउँदै व्यक्तिगत कटाक्षसमेत गरेका छन्। उनले सरिनलाई ‘दिमाग चेक गराउनू’ भन्नेसम्मको टिप्पणी गरेका छन्।
गेलालको सचिवालयले प्रतिनिधिसभा निर्वाचन २०८२ का क्रममा प्रधानमन्त्री बालेन साह, सभापति रवि लामिछाने तथा सांसदहरू पारसमणि गेलाल र सूर्य लामासँग खिचिएका फोटो तथा भिडियोको प्रतियोगिता घोषणा गरेको थियो। प्रतियोगितामा उत्कृष्ट तीन जनालाई नगद पुरस्कार दिने उल्लेख गरिएको छ। सहभागीले फोटो वा भिडियो पठाउनुका साथै आफ्नो सामाजिक सञ्जालमा समेत पोस्ट गर्नुपर्ने सूचनामा भनिएको छ। पुरस्कार रकम भने पछि भिडियो सन्देशमार्फत सार्वजनिक गरिने जनाइएको थियो।
यही घोषणालाई लिएर सरिनले सामाजिक सञ्जालमा व्यंग्यात्मक टिप्पणी गरेकी थिइन्। उनले संगठनमा मेहनत गरेर जिम्मेवारीमा पुगेकाले त्यसको महत्व बुझ्ने भन्दै गेलालको सांगठनिक योगदान र अवसर प्राप्तिको आधारमाथि प्रश्न उठाएकी छिन्।
उनले गेलालले ठूला नेताहरू कोशी प्रदेश आउँदा सवारीसाधनको व्यवस्था गरेको भरमा अवसर पाएको आरोप लगाएकी छिन्। संगठन निर्माणमा गरेको योगदानभन्दा नेताहरूको चाकडी र निकटताका आधारमा पद तथा अवसर प्राप्त गरेको उनको टिप्पणी थियो।
प्रदेश अधिवेशनमा उपसभापति पदको बार्गेनिङ गरेको आरोप
सरिनले प्रदेश अधिवेशनका क्रममा गेलालले आफूलाई उपसभापति पद दिए समर्थन गर्ने प्रस्ताव राखेको आरोपसमेत लगाएकी छिन्। उनले पदसँग समर्थन साटफेर गर्न आफू तयार नभएको दाबी गरेकी छिन्।
उनको पोस्टमा संगठनभित्र नेताको निकटता देखाएर गुट बनाउने र त्यसैका आधारमा अवसर खोज्ने प्रवृत्तिको आलोचना गरिएको छ। पालिका, जिल्ला र प्रदेश तहमा अधिवेशन भइरहेका बेला आफू सभापति रविको नजिकको व्यक्ति वा प्रधानमन्त्री बालेनको नजिकको व्यक्ति भन्दै संगठन विभाजन गर्ने प्रवृत्ति गेलाले देखाएको उनको आरोप छ।
सरिनले यस्ता गतिविधि गर्नेहरू बिस्तारै सार्वजनिक रूपमा उदाङ्गिँदै जाने चेतावनी दिँदै जनताले काम गर्न पठाएका प्रतिनिधिको मत खेर जान नदिने बताएकी छिन्।
गेलालको प्रतिवादः ‘उपसभापति बस्नुस् भनेको हो, उल्टो प्रचार किन गर्छौ ?’
सरिनको आरोपपछि सांसद गेलालले सोही पोस्टमुनि लामो टिप्पणी गर्दै प्रतिवाद गरेका छन्। उनले प्रदेश उपसभापति पद आफूले मागेको नभई सरिनलाई नै उक्त पदमा बस्न आग्रह गरेको दाबी गरेका छन्। ‘उपसभापति बस्नुस् भनेको हो, उल्टो प्रचार किन गर्छौ,’ उनले लेखेका छन्।
गेलालले जवाफको सुरुमै सरिनलाई ‘दिदी कि दाजु’ भन्दै सम्बोधन गरेका छन्। उनले सरिन आफ्नो गाडीमा समेत चढेको उल्लेख गर्दै इलाम जानका लागि गाडी उपलब्ध नगराएको रिस अहिले पोखिएको आरोप लगाएका छन्।
सरिन पदमा रहँदा अरूको आतिथ्य स्वीकार्दै हिँडेको तर संगठन निर्माणमा स्थानीय कार्यकर्ताले गरेको मेहनतको श्रेय लिन खोजेको गेलालको आरोप छ। उदयपुरमा भएको हस्ताक्षर अभियानका लागि कागज छपाएर पठाएको विषय पनि उनले उठाएका छन्।
सरिनको सांगठनिक योगदानमाथि प्रश्न उठाउँदै गेलालले सुनसरीमा जीवन श्रेष्ठको योगदान सरिनको भन्दा बढी रहेको दाबी गरेका छन्। योगदान बढी थियो भने श्रेष्ठलाई किन टिकट सिफारिस नगरिएको भन्ने प्रश्नसमेत उनले गरेका छन्। उनले सरिनलाई घमण्डी र पदलोलुपताको आरोप लगाउँदै ‘बरु गएर दिमाग चेक गराउनू’ भन्ने व्यक्तिगत कटाक्ष गरेका छन्।
गेलालले आफ्नो प्रवृत्ति र बौद्धिकतामाथि हुने आलोचना भने स्वीकार्ने बताएका छन्। ‘मेरो विरोध गर्नै मन छ भने मेरो प्रवृत्ति र बौद्धिकताको विरोध गर्नुस्, हाँसेर स्वीकारिन्छ,’ उनले लेखेका छन्।
प्रतियोगिताको उद्देश्य ओझेलमा, नेताहरूको व्यक्तिगत आरोप–प्रत्यारोप चर्चामा
गेलालको सचिवालयले सार्वजनिक गरेको प्रतियोगिताको उद्देश्य निर्वाचनका क्रममा प्रधानमन्त्री, पार्टी सभापति र सांसदहरूसँग खिचिएका फोटो तथा भिडियो संकलन गर्नु र उत्कृष्ट सामग्रीलाई पुरस्कार दिनु देखिन्छ। तर, प्रतियोगिताको घोषणा सार्वजनिक भएसँगै त्यसको औचित्य र राजनीतिक सन्देशबारे बहस हुनुपर्नेमा विवाद दुई नेताको व्यक्तिगत आरोप–प्रत्यारोपमा केन्द्रित भएको छ।
विशेषगरी सार्वजनिक पदमा रहेका सांसदले आफ्नो सचिवालयमार्फत आयोजना गरेको प्रतियोगिताको प्राथमिकता र सार्वजनिक स्रोतसाधनको प्रयोगबारे प्रश्न उठ्न सक्छ। तर, सरिन र गेलालबीचको विवाद भने प्रतियोगिताभन्दा धेरै पर पुगेर पुरानो सांगठनिक सम्बन्ध र अवसर प्राप्तिको हिसाबकिताबमा केन्द्रित भएको छ।
सरिनले गेलाललाई चाकडीबाट अवसर पाएको आरोप लगाएकी छिन् भने गेलालले सरिनको योगदान र टिकट सिफारिसको प्रसंग उठाएर जवाफ दिएका छन्। दुवैले आफ्ना आरोप पुष्टि गर्ने विस्तृत प्रमाण भने सामाजिक सञ्जालका ती टिप्पणीमा प्रस्तुत गरेका छैनन्।
गेलाल यसअघि पनि सार्वजनिक अभिव्यक्तिका कारण विवादमा
सांसद गेलाल यसअघि पनि सार्वजनिक अभिव्यक्तिका कारण आलोचनामा परेका थिए। गत असारमा टेलिफोन संवादका क्रममा उनले मेयरलाई सरुवा गर्नुपर्ने आशयको अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएको थियो।
उक्त अभिव्यक्तिको आलोचना भएपछि गेलालले आफ्नो भनाइ तोडमोड गरिएको दाबी गरेका थिए। कर्मचारीसरह मेयरको सरुवा गर्ने नभई निर्वाचनमार्फत काम नगर्ने जनप्रतिनिधिलाई हटाउने अर्थमा आफूले ‘सरुवा’ शब्द प्रयोग गरेको उनको स्पष्टीकरण थियो।
त्यसपछि साउनमा सार्वजनिक अर्को भिडियोमा एक युवकले उनलाई ‘चिट्ठामा परेको माननीय हो तपाईं, चाउचाउको कुपनमा परेको हो’ भन्दै टिप्पणी गरेका थिए। अर्का युवकले प्रचार र भ्युजका लागि हिँडेको आरोप लगाउँदा गेलालले पनि ती युवक भ्युजकै लागि प्रश्न गरिरहेको जवाफ दिएका थिए।
यसपटक भने फोटो तथा भिडियो प्रतियोगिताको घोषणाले पार्टीभित्रकै पूर्वकार्यवाहक सभापतिसँग उनको सार्वजनिक विवाद चर्काएको छ। सरिन कोशी प्रदेशमा रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिसकेकी नेतृ हुन्। उनी सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेकी थिइन्। गेलाल उदयपुर–१ बाट निर्वाचित सांसद हुन्।
पार्टीभित्र संगठन निर्माण, नेतृत्वसँगको निकटता र अवसर वितरणलाई लिएर असन्तुष्टि रहेको संकेत यो विवादले दिएको छ। सार्वजनिक रूपमा जनताको प्रतिनिधित्व गर्ने नेताहरू नै सामाजिक सञ्जालमा एकअर्काको योगदान, चरित्र र बौद्धिकतामाथि व्यक्तिगत प्रहारमा उत्रिएपछि प्रश्न उठेको छ—रास्वपाको संगठनभित्रको असन्तुष्टि नीति र विधिबाट समाधान हुन्छ कि यस्तै सार्वजनिक आरोप–प्रत्यारोपबाट ?



लोकप्रिय
‘रास्वपाभित्र विस्फोटको संकेत ! वर्षमान पुन भन्छन्– बालेनले रविलाई थुन्न सक्छन्, रविले प्रधानमन्त्री हटाउन सक्छन्’

