भारतीय अदालतको आदेशमा प्रकृति लम्सालको मृत्यु प्रकरणका अभियुक्त धरौटीमा रिहा

काठमाडौँ— भारतको उडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद अवस्थामा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा पक्राउ परेका भारतीय छात्र अद्विक श्रीवास्तव धरौटीमा रिहा भएका छन्।
उनीमाथि नेपाली छात्रा लम्साललाई मर्न बाध्य बनाएको आरोप लागेको थियो। तर उडिसास्थित उच्च अदालतले गत मे १६ मा १ लाख भारतीय रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अद्विक श्रीवास्तव धरौटी बुझाएर हालसालै रिहा भइसकेका छन्।
गत फागुन ४ गते केआईआईटी कलेजमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल होस्टलको कोठामै मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानपछि भारतीय प्रहरीले घटनामा संलग्न रहेको भन्दै श्रीवास्तवलाई पक्राउ गरेको थियो। तर, अदालतको आदेशपछि उनी अहिले रिहा भएका छन्।
प्रकृतिका बुवा सुनील लम्सालले अभियुक्त धरौटीमा रिहा भइसकेको जानकारी आफूलाई हालै मात्र प्राप्त भएको बताएका छन्। ‘अदालतले मे १६ मै रिहा गर्ने आदेश दिएको रहेछ, तर मैले दुई÷चार दिनअघि मात्र थाहा पाएँ।’
उनले न्यायको माग गर्दै २८ जेठमा नेपाल सरकारका परराष्ट्रमन्त्री डा. आरजु राणालाई भेटेर ज्ञापनपत्र बुझाइसकेको जानकारी दिएका छन्। ‘अहिलेसम्म सरकारबाट कुनै प्रतिक्रिया आएको छैन,’ उनले भने।
अभियुक्त रिहा भएपछि आफूले छोरीका लागि न्याय पाउने कि नपाउने भन्ने चिन्ता बढेको उनको भनाइ छ। यद्यपी घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाइएको छ। प्रकृतिको मृत्युलाई लिएर नेपाली समुदाय र पीडित परिवारले दोषीलाई कडा कारबाहीको माग गर्दै आएका छन्।
- यो पनि,
- प्रकृति लम्सालको मृत्यु प्रकरण नसेलाउँदै उडिसाको कलिंगा इन्स्टिच्यूटमा अर्की नेपाली छात्रा मृत फेला
- प्रकृति लम्साल मृत्यु प्रकरणमा हालसम्म ६ जना पक्राउ, शव आज घर ल्याईँदै
- प्रकृति लम्साल मृत्यु प्रकरण छानविन गर्न ओडिसा प्रदेश सरकारले बनायो उच्चस्तरीय समिति
- नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरण ओडिसाको विधानसभामा, कलेजले माग्यो माफी
- नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा कलेजका २ जना सुरक्षा गार्ड वर्खास्त
- नेपाली छात्रा प्रकृति लम्साल मृत्यु प्रकरणमा जोडिएका युवक पक्राउ, नेपाली विद्यार्थीमाथि कलेजको दमन
- २० वर्षीया प्रकृतिको शरीरलाई ७६ वर्षीय हजुरबुबाले दिए दागवत्ती, स्वर्गद्वारी घाटमा अन्त्येष्टि
- केआईआईटीमा अध्ययनरत राजविराजका ८ सहित १६ विद्यार्थी घरमा आईपुगे
- भारतमा अध्ययनरत एक नेपाली छात्राको शंकास्पद मृत्यु, कारण प्रेम की दुर्व्यवहार ?