रुबी साह हत्या प्रकरणः आमाले पैसावालसँग सुत्न बाध्य बनाएको र देवरले ब्ल्याकमेल गरेको आरोप

रौतहट— रौतहटको माधवनारायण नगरपालिका–२ मा वस्दै आएकी २६ वर्षीया रुबीकुमारी साहको हत्या प्रकरणमा आरोपी लक्ष्मण पासवानले घटना हुनुमा रुबीकी आमा सुनिच्छा देवी (मिथिला) र उनका परिवारका सदस्य मुख्य कारक भएको आरोप लगाएका छन्।

उनले ९ मिनेट ३६ सेकेन्ड लामो भिडियो मार्फत रुबीलाई उनकी आमाले पैसावाल व्यक्तिसँग ‘सुत्न जा’ भन्दै बाध्य बनाएको दाबी गरेका छन्। ‘एउटा राजन महतो भन्ने व्यक्ति निकै खराब छ, रुबीलाई पैसा दिन्छु भन्दै आफुसँग सुत्न (शारीरिक सम्वन्ध राख्न) दबाब दिन्छ। अर्का व्यक्ति राजा (राजु) ले कार र घरको लालच देखाएर आफुसँग सुत्न दबाब दिन खोज्छ, तर रुबी मान्दिनन्’ उनले भनेका छन्–‘तर उनकी आमा खराब छिन्, छोरीको बिहे भइसकेको छ, तर अरुसँग जा भन्छिन्।’

पासवानले रुबीका देवरले समेत नुहाउँदै गरेको भीडीओ खिचेर ब्ल्याकमेल गरेको खुलाएका छन्। विभिन्न कारणले रुबी डिप्रेशनमा गएर बारम्बार आफूलाई ‘मार दे’ भन्ने गरेको पासवानले बताएका छन्। हत्या भएको दिन रुबी आफुसँग भेट्न आएको उनको भनाई छ। ‘उनी बारम्बार म अब सक्दिनँ, मलाई मार दे भन्थिन’ पासवानले भनेका छन्,–‘मैले तिमीलाई मार्न सक्दिनँ, बरु मलाई मार भनें। झगडा पनि भयो। तनाव बढेपछि रुबीको हत्या गरेँ।’

पासवानका अनुसार उनी र रुबीको प्रेम सम्बन्ध स्कुलको बेलादेखि थियो। १० कक्षामा पढ्दै गर्दा दुवैले भागेर विवाह गरेका थिएन। भारतको सीतामढीस्थित अदालत र नेपालको सर्लाही जिल्ला अदालतमा उनीहरुले कोर्ट म्यारिज गरेका छन्।

‘म गरिब भए पनि उसलाई माया गर्थे, खुशी राख्थे। १० कक्षामा पढ्दा भागेर बिहे गर्यौँ। तर उनकी आमाले हामीलाई सधैं अलग राख्न खोजिन्, धेरै सताइन्, दुख दिइन्, गरिब भनेर ताना मारिन्।’ उनले भनेका छन्।

उनले रुबीको हत्यामा ग्लानी महसुस गर्दै आफु दोशी भएको र कानुनी कारवाहीले मात्र नपुग्ने भन्दै आफुले आफैलाई सजाय दिन लागेको बताएका छन्। ‘म दोषी छु। रुबी बिना म बाँच्न सक्दिनँ। आजै आगो लगाएर मर्छु। मेरो प्राण रुबीसँग गइसकेको छ, उनी मलाई पर्खिरहेकी छन्, म उनलाई भेट्न जाँदैछु।’

उनले थपेका छन्, ‘कानुनले जेल हाल्न सक्छ, तर त्यसले मलाई केही हुँदैन। म दोषी हुँ, तर भाग्दिनँ। म जेलमा पनि बस्न सक्दिनँ। मेरो जान (रुबी) नभएपछि म बाँच्दिन। म उनलाई उतै भेट्छु।’

रौतहट प्रहरीका डीएसपी राजु कार्कीका अनुसार, पासवानले छातीमा रुबीको तस्बिर र पाखुरामा उनको नामको ट्याटु खोपेका थिए। पासवानलाई बुधबार बिहान माधव नारायण नगरपालिका–६ स्थित खेतमा आगोले जलेको अवस्थामा पक्राउ गरिएको थियो। उनलाई उपचारका लागि तत्काल गरुडास्थित बेटर नेपाल हस्पिटलमा भर्ना गरिएको थियो, तर त्यहाँ उपचार सम्भव नभएपछि कीर्तिपुरस्थित बर्न सेन्टरमा रिफर गरिएको छ।

भागेर विवाह गर्दा ४ वर्ष जेल परे, छुटेर विदेश गए, फर्केर हत्या
रुबीको माईती घर माधवनारायण–६, माधोपुर हो भने लक्ष्मण पनि सोही गाउँका हुन। स्रोतका अनुसार बाल्यकाल देखि एसएलसीसम्म संगै अध्यन गरेका उनीहरु दुबैले ०६७ सालमा अन्तरजातिय बिबाह गरेका थिए। तर, माईतीपक्षले उनीहरु लाई छुट्याउनुका साथै प्रहरीमा अपहरणको मुद्धा दर्ता गराएका थिए। सोही जाहेरीले पासवान चार बर्ष जेल जीबन बिताएर रिहा भएपछि रोजगारीको लागि पटक–पटक बिदेश जाने आउने गर्दै आएका थिए ।

उनी जेलमै रहेका बेला ०६८ सालमा माईतीले रुबीको विवाह भारतको बिहार राज्य सितामढि जिल्लाको मजफपुरस्थित रोक्साटोलका शिवसागर साहसँग गराई दिएका थिए। उनीहरुका ४ वर्षका एक छोरा छन्। छोराको अध्ययनको लागि भन्दै केही समयदेखि रुवी गौरमा डेरा गरी बस्दै आएकी थिईन।

यता, लक्ष्मण बिदेशमा भएपनि दुबै सम्पर्कमै रहदै आएका थिए। पछिल्लो समय पासवानले समेत गौर नगरपालिका– ५ स्थित बालमन्दिर पछाडिको एक घरमा डेरा गरी बस्दै आएको खुलेको छ। यद्यपी उनी पनि विवाहित रहेको र श्रीमती घरमै रहेको जनाईएको छ।

यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट