एमाले नेता ऐनबहादुर महर दम्पत्ति विरुद्ध पक्राउ पूर्जीः पति पक्राउ, पत्नि पक्राउ पर्न बाँकी

राजधानी– बझाङकी युवती रश्मिला धामीले दिएको जाहेरीका आधारमा नेकपा एमालेका केन्द्रीय सदस्य ऐनबहादुर महर पक्राउ परेका छन्। युवतीले महरमाथि पटकपटक यौन शोषण, चरित्रहत्या र गालीबेइज्जती गरेको आरोप लगाएकी छिन्।

जिल्ला अदालत काठमाडौँले सोमबार पक्राउ पुर्जी जारी गरेपछि महरले आज साइबर ब्युरोमा आत्मसमर्पण गरेका थिए। त्यसलगत्तै प्रहरीले उनलाई अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा उपस्थित गराएको र अनुमति प्राप्त गरेको छ।

प्रहरीका अनुसार महरकी पत्नी सनुजा श्रेष्ठविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। अस्कल क्याम्पसकी उपप्राध्यापक समेत रहेकी एमाले नेत्री श्रेष्ठ अहिले पक्राउ परेकी छैनन्।

महरमाथि अनुसन्धान अघि बढाउन उच्च अदालत पाटनका न्यायाधीश ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको संयुक्त इजलासले आदेश दिएको थियो। तर, प्रभावशाली नेताका रूपमा महर अनुसन्धानको दायरामा आउन नमानेको पीडितले आरोप लगाएकी छन्।

रश्मिलाले आफ्नो उजुरी बालकोट, प्रहरी र सरकारी वकिल कार्यालयसम्म पुर्याएकी थिइन्, तर प्रहरीले उनको जाहेरी दर्ता गर्न अस्वीकार गर्दै तामेलीमा राखेको थियो। पछि माघमा उनी अदालत पुगेकी थिइन् र आदेश उनको पक्षमा आएको थियो।

पीडित रश्मिलाले प्रहरी र अदालत परिसरमा पटकपटक प्रताडित भैसकेकी छन्। उनी अदालत परिसरमै विष सेवनको प्रयाससमेत गरेकी थिइन्। रश्मिलाले उजुरी विद्युतीय कारोबार ऐन अनुसार कारबाहीको माग गर्दै आएकी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट