दुई समुहको झडपमा महोत्तरीको पिपरा डेकहा बजारमा आगजनी, ८ पसल जलेर नष्ट

महोत्तरी— महोत्तरीको पिपरा गाउँपालिका–१ स्थित डेकहा बजार बिहीबार साँझ आगजनी र तोडफोडका कारण आतंकित बन्यो। स्थानीय मेलाको क्रममा दुई समूहबीचको विवाद हिंसात्मक भएपछि बजारका ८ वटा पसलमा आगजनी गरिएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेरम्ब शर्माका अनुसार रुपेश साहको किराना पसलसहित ईशा कवारी, मोहम्मद उम्मेर, मंसुर कवारी, अबु कवारी, लतिभ कवारी, मजलिस कवारी र रामवृक्ष यादवका पसलमा आगजनी भएको पुष्टि भएको छ। पाँचवटा पसल पूर्ण रूपमा जलेर खरानी भएका छन् भने बाँकी तीनवटा पसलमा तोडफोड र लुटपाट भएको स्थानीयले बताएका छन्।

आगजनीबाट लाखौँ मूल्य बराबरको सामान नष्ट भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी खोजी भइरहेको एसपी शर्माले जानकारी दिए। पीडित व्यापारीहरूले तत्काल राहत, क्षतिपूर्ति र घटनामा संलग्नमाथि कडा कारबाहीको माग गरेका छन्। उनीहरूले बजारमा सुरक्षा व्यवस्था कडा पार्न पनि आग्रह गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट