तिब्बती धर्मगुरु रिन्पोछे प्रवेशसँगै काठमाडौँमा कूटनीतिक विस्फोट, चीन असन्तुष्ट, सरकार मौन

काठमाडौँ— तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिन्पोछेको नेपाल भ्रमणले राजनीतिक र कूटनीतिक तहमा ठूलो तरङ्ग सिर्जना गरेको छ। माघ १५ गते नेपाल प्रवेश गरेका रिन्पोछेलाई सरकारले उच्च सुरक्षा र राजकीय सत्कार दिएको खबरले देशभरै विवाद सृजना गरेको हो।

नेपालस्थित विभिन्न राजनीतिक दलहरूले यसलाई आपत्तिजनक र संवेदनशील कदम भएको भन्दै आलोचना गरेका छन्। रिन्पोछेको भ्रमण डोल्पो समाजको निमन्त्रणामा माघ १८ देखि १० दिनसम्म चल्ने प्रवचनका लागि तय भएको हो। डोल्पो समाजका प्रतिनिधिहरूले भने, प्रवचन तोकिए अनुसार सम्पन्न नभएमा रिन्पोछेको बसाइ थप बढ्न सक्ने बताएका छन्। तर यस भ्रमणलाई लिएर मिडियाले विवाद बढाएको र ‘असामान्य’ रूप दिन खोजेको उनीहरूको भनाइ छ।

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले भने यो भ्रमणलाई ‘चीन विरोधी गतिविधि’ का रूपमा चित्रण गरेका छन्। खनालले सरकारको संरक्षणमा भएको यस भ्रमणले नेपालको ‘एक चीन नीति’ माथि ठाडो प्रहार गरेको आरोप लगाए। उनले भने, ‘यो सामान्य धार्मिक भ्रमण मात्र होइन, यसले नेपाल–चीन सम्बन्धलाई अस्थिर बनाएको छ। राजनीतिक र कूटनीतिक संकटको खतरा बढेको छ।’

एमाले उपाध्यक्ष थापाले पनि सरकारले चीन विरोधी मानिएका तिब्बती प्रतिनिधिलाई एयरपोर्टबाट राजकीय सत्कार र सुरक्षा दिएको भन्दै चेतावनी दिएका छन्। उनका अनुसार, ‘चिनियाँ पक्ष असन्तुष्ट छन्, उनिहरुले कारबाही गरेर क्षमा याचना गर्न नभए परिणाम भोग्न तयार रहन सरकारलाई दुई विकल्प दिएका छन।’

सन् १९७० मा तिब्बतमा जन्मेका रिन्पोछेले भारतको गान्देन गुम्बा विश्वविद्यालयबाट अध्ययन गरे र दलाई लामाबाट अभिषेक प्राप्त गरेका हुन्। उनी युरोप, दक्षिण अमेरिका, ताइवानलगायतका देशमा प्रवचन दिइसकेका छन्। तर, जेनजी आन्दोलनको समयमा तिब्बतीहरूको सम्भावित सहयोग र हालका प्रधानमन्त्रीसँग दलाई लामाको सम्बन्धलाई मध्यनजर गर्दै रिन्पोछेको नेपाल भ्रमणलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

विशेषज्ञहरूका अनुसार, रिन्पोछेको नेपाल आगमनले केवल धार्मिक गतिविधि मात्र नभई राष्ट्रिय राजनीतिक भूगोलमा पनि हलचल ल्याउने अवस्था सिर्जना गरेको छ। यसको प्रभाव नेपाल–चीन सम्बन्ध, आन्तरिक सुरक्षा, र मधेश तथा तिब्बती समुदायसँगको सम्बन्धमा समेत देखा पर्ने सम्भावना रहन्छ।

नेपाल सरकारले हालसम्म यसबारे आधिकारिक प्रतिक्रिया नदिँदा राजनीतिक असहमति र कूटनीतिक संवेदनशीलता अझ बढेको छ। रिन्पोछेको प्रवचन सकिएपछि मात्रै उनी फर्कने भएका कारण आगामी दिनमा यस घटनाको राजनीतिक प्रभाव कसरी परिणत हुन्छ भन्ने विषयमा चासो उच्च छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट