जेठी श्रीमतीको पाठेघर निकालेको आरोपमा ३० वर्षपछि गायक उदितनारायण झा विरुद्ध उजुरी दर्ता
काठमाडौँ — बलिउडका चर्चित गायक उदित नारायण झा र उनकी कान्छी पत्नी दीपा नारायणविरुद्ध जेठी पत्नी रञ्जना झाले ‘आफ्नो गर्भासय निकालेको’ आरोप लगाएकी छिन्। रञ्जनाले ‘सन् १९९६ मा आपराधिक कार्य गरेको’ आरोप लगाउँदै दिएको उजुरी विहार प्रहरीले दर्ता गरेको छ।
उजुरीमा ‘भारतमा बस्दा उदित नारायणका भाइ ललित नारायण झाले उपचारको वहानामा अस्पताल लगि आफनो स्विकृति र जानकारी बिना गर्भाशय निकालेको’ आरोप छ। भारतीय न्यूजपोर्टल अमर उजालाको रिपोर्टअनुसार, उजुरी रञ्जनाले विहारस्थित सुपौल जिल्लाको महिला थानामा मंगलबार पेश गरेकी छन्।
रञ्जनाले सन् १९८४ डिसेम्बर ७ मा उदितसँग विवाह गरेकी हुन। त्यसको एक वर्षपछि भारत गएको दावी उनले गरेकी छन्। भारतमा बस्दा उदितले गायिका दीपा गहतराजसँग दोस्रो विवाह गरेका थिए। रञ्जनाको दाबी अनुसार, सन् १९९६ मा उदितका भाइ ललितले उनलाई उपचारको नाममा अस्पतालमा लगेर गर्भाशय निकालेका थिए, जसमा उदित नारायणको अप्रत्यक्ष सहमति रहेको उल्लेख छ।
उक्त उजुरीमा उदितका अन्य भाइ सञ्जयकुमार झा र ललित नारायण झालाई समेत प्रतिवादी बनाइएको छ। रञ्जनाले अघि भारतीय महिला आयोगमा पनि उदितविरुद्ध उजुरी दिएकी थिइन्। त्यतिबेला उदितले उनलाई आफ्नो पहिलो पत्नीको रूपमा स्वीकार गरेका भए पनि आवश्यक सम्मान वा सुविधा नदिएको उनले बताइन्।
सुपौलको बलुआ बजार थाना अन्तर्गत संस्कृत निर्मली वार्ड नं. ११ मा रञ्जनाको माइती रहेको छ। उजुरी अनुसार सन् २००६ मा उदितलाई भेट्न दिल्ली जाँदा उनलाई अपमानपूर्वक त्यहाँबाट लखेटिएको थियो।
महिला थानाध्यक्ष अञ्जु तिवारीले यस घटनाको छानबिन भइरहेको पुष्टि गर्दै भनिन्, ‘यो घटना ३० वर्ष पुरानो भए तापनि पुराना तथ्यांकको आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइनेछ।’ प्रहरीले प्राप्त प्रमाण र उजुरीको आधारमा उदित नारायण र उनका सम्बन्धित परिवारका सदस्यमाथि आवश्यक कानुनी कारबाही अघि बढाउने तयारीमा छ।
यो प्रकरणले बलिउडमा मात्र होइन, नेपालमा समेत चर्चा सुरु भएको छ। झा सप्तरीको कञ्चनरुप नगरपालिका, भारदहका नागरिक हुन्। उनले सप्तरी जिल्लाबाट नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन्। सोही आधारमा उनले रेडियो नेपालमा केही वर्ष जागिर खाएका थिए। त्यहीँबाट भारतीय दूतावासको छात्रवृत्तिमा संगीत विषयको अध्ययनका लागि भारत गएका थिए। भारतमा बस्न थालेपछि गायिका दीपा गहतराजसँग दोस्रो विवाह गरेको दावी रञ्जनाले गरेकी छिन्।

