गैह्रीगाउँ हत्या प्रकरणः एउटा प्रश्नको उत्तर नभेटिँदा सुचना दिन गएका दीपेन्द्र प्रहरी हिरासतमा पुगे

काठमाण्डौं– भदौ २९ गते काठमाण्डौंको गैह्रीगाउँ स्थित दिव्य स–मिलमा ४ जनाको सामुहिक हत्या भयो।

मिलमा चौकीदारको काम गर्ने दोलखाको कालिन्चोक गाउँपालिका ८ निवासी ५६ वर्षका पूर्णबहादुर भुजेल, उनकी श्रीमती ५० वर्षकी अम्बिका भुजेल, आमा ७६ वर्षकी शुभद्रा भुजेल र मोरङका १९ वर्षिय नवीन भन्ने विशाल राईको एकै चिहान भयो।

तर, पूर्णवहादुरसँगै वस्दै आएका मोरङका दीपेन्द्र राई भने जोगिए। दीपेन्द्रका बुबाले पहिले यही स–मिलमा काम गर्थे। १२ वर्षदेखि उक्त स–मिलमा काम गरेका बुबाले ६ महिनापहिले काम छाडेपनि दीपेन्द्र भने यही कोठामा बस्थे।

दीपेन्द्र वैदेशिक रोजगारीमा श्रमिक पठाउने एजेन्टको काम पनि गर्थे। उनले गाउँकै भाइ नाता पर्ने नवीनलाई वैदेशिक रोजगारीमा पठाउनकै लागि काठमाण्डौं बोलाएका थिए। नवीन पनि दीपेन्द्रकै डेरामा बस्थे। संयोगबस नविनसहित चारै जनाको हत्या हुँदा दीपेन्द्र भने बाँचे। उनी हत्या हुनबाट जोगिएको मात्रै होईन, रक्सीले मातेर रगतले लतपतिएको अवस्थामा ‘मेरो भाईको हत्या भयो’ भन्दै आफै प्रहरी वृत्त बानेश्वर पुगे।

प्रहरीले उनलाई नै नियन्त्रणमा लिएर सोधपुछ गर्यो। मातेका दीपेन्द्र प्रष्ट बताउन सक्ने अवस्थामा थिएनन्। उनले आफ्नो भाइको हत्या भएको बताए। तर उनको शरीरमा रगत लतपतिएको थियो। प्रहरी गएर घटनास्थलमा हेर्दा चार जनाको शव फेला पर्यो। त्यसपछि प्रहरीको मनमा एउटा प्रश्न उब्जियो– स–मिलमा सँगै बस्ने चार जनाको हत्या हुँदा दीपेन्द्र कसरी जोगिए ? यही प्रश्नको उत्तर नपाउँदा दीपेन्द्र प्रहरी नियन्त्रणमा परे।

अनुशन्धान र हत्यारा पक्राउ परेपछि भने उनलाई प्रहरीले निर्दोश भन्दै छोडेको छ।

कसरी जोगिए त दिपेन्द्र ?
दीपेन्द्र वैदेशिक रोजगारीमा श्रमिक पठाउने एजेन्टको काम पनि गर्थे। प्रायः रक्सी खाएर राति कोठा फर्किन्थे। सोही विषयमा कुमार र दीपेन्द्रको बेलाबेला झगडा पर्थ्यो। रक्सी खाएर आएपछि मध्यराति गेटमा हल्ला गरेको भन्दै कुमार दीपेन्द्रलाई अन्तै कोठा खोज्न पनि भनेका थिए।

उनले खोज्दैछु भन्दै टारिरहेका थिए। घट्नना भएको दिन उनी पेप्सिकोलामा दिनभरि पुल खेलेर वसेको पाईएको छ। उनका भाइ नाता पर्ने नवीन भने कोठामै थिए। दीपेन्द्रले पुलमा बाजी जिते। जितेको पैसाले बेलुका साथीहरुसँग बसेर रक्सी खाने र रमाईलो गर्न थाले।

रक्सीले मातेर उनी सवा १० बजे डेरा पुगे। उनले गेट ठटाए। तर, खोल्न कोही आएनन्। त्यसपछि उनले १०ः१९ बजे नविनलाई फोन गरे। नविनको फोन नउठेपछि कुमारलाई फोन गरे, तर उनको फोन पनि उठेन। झण्डै एक घण्टासम्म गेट वाहिरै वसेका उनले त्यो अवधिमा कुमारलाई १५ र नवीनलाई १४ पटक फोन गरेको पाईएको छ।

आजित भएपछि गोजी चेक गर्दा गेटको चाबी भेटियो। चावी खोलेर उनी भित्र पसे। रक्सीको तालमा रहेका उनले नवीन सुतिरहेको जस्तो देखेर झक्झक्याए। त्यसपछि मात्रै उनले भाई मरिसकेको पत्ता पाए।

अत्तालिँदै दीपेन्द्र बाहिर निस्किए। बाहिर ट्याक्सी चालकलाई उनले आफ्नो भाइको हत्या भएको बताएर प्रहरी कार्यालय पु¥याइदिन भने। अन्य तीन जनाको हत्या भएको थाहै नपाई उनी प्रहरी कार्यालय पुगेको अनुशन्धानबाट खुलेको छ।

थप अनुशन्धान गर्दै जाँदा चारै जनाको हत्यामा संलग्न सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ घर भई काँडाघारी स्थित दिदीभिनाजुसँगै बसेर १२ कक्षा पढ्दै गरेका सञ्जय भण्डारीलाई प्रहरीले पक्राउ गर्यो। त्यसपछि भने दीपेन्द्र निर्दोश भई रिहा भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट