मलंगवामा दुई धार्मिक समुदायबीच फेरी तनाव, प्रशासनले लगायो कर्फ्यु

मलंगवा– सर्लाही सदरमुकाम मलंगवामा फेरि दुई धार्मिक समूहबीच तनाव देखिएको छ। बिहीबार राति मूर्ति सेलाउने क्रममा भएको विवादलाई लिएर तनाव भएपछि मलंगवा नगरपालिका क्षेत्रमा हिंसाको अवस्था बनेको हो।

गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएको हो। स्थितीलाई नियन्त्रणमा राख्न स्थानीय प्रशासनले सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ।

सीडीओ इन्द्रदेव यादवले स्थिति नियन्त्रण बाहिर गएको भन्दै बिहीबार राति १० बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेका हुन् । साविक मलङ्गवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुङ्गामुढा प्रहार, उच्छृंखल गतिविधि लगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने जोखिमलाई मध्यनजर गरी कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ।

पुरानो मलङ्गवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्टरबाबा पेट्रोल पम्प) सीमा क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न एव अरु कुनै प्रकारको उच्छृङल गतिविधि गर्न नपाउने गरी अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको आदेशमा उल्लेख छ।

आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकताअनुसार बल प्रयोग गरी कानुनबमोजिम कारबाहीसमेत गरिने आदेशमा लेखिएको छ ।

मुर्ती सेलाउने क्रममा भएको झडपमा आधा दर्जन घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ सेल अश्रुग्याँस प्रहार गरेको थियो ।

डेढ साताअघि पनि दुई समुदायबीच झडपले उग्ररुप लिएपछि मलंगवामा कर्फ्यु लगाइएको थियो । भदौ अन्तिम साता सर्लाही सदरमुकाम मलंगवामा साम्प्रदायिक सद्भाव बिथोल्न खोजेको भन्दै प्रहरीले कृष्ण यादवसहित ११ जनालाई पक्राउ गरेको थियो। तर उनीहरुलाई सर्वपक्षीय बैठकको सहमति अनुसार रिहा गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट