सप्तरीमा पटका पड्काएको विषयमा १३ वर्षिय बालकमाथि छिमेकीद्वारा निर्घात कुटपिट

राजविराज– पटका पड्काएको विषयमा सप्तरीको रुपनी गाउँपालिका २ का एक १३ वर्षिय बालक छिमेकीबाट निर्घात कुटिएका छन्।

रुपनी गाउँपालिका २ वस्ने प्रमोद साहका छोरा निखिल (मिलन) लाई छिमेकी ४९ वर्षीय देवकृष्ण यादव, उनकी श्रीमती फूलबारी देवी र छोरा ३० वर्षीय महेशले कुटपिट गरेका हुन। मादक पदार्थ सेवन गरेर दुई दिन लगातार बालकमाथि कुटपिट गरिएको पीडित परिवारको आरोप छ।

उनीहरुका अनुसार बाटोमा पटका पड्काएको विषयमा विवाद गरेर नियोजित रुपमा मिलनलाई कुटपिट गरिएको हो। असोज ९ र १० गते गम्छाले हात खुट्टा बाधेर बालकलाई कुटपिट गरिएको स्थानीय विरेन्द्र साहले वताए।

कुटपिटका कारण मिलनको टाउको, छाती, ढाडलगायतका शरीरका विभिन्न भागमा चोट लागेको छ। यस विषयमा ईलाका प्रहरी कार्यालय रूपनीमा खबर गर्दा प्रहरीले पनि वास्ता नगरेको परिवारको आरोप छ।

कुटपिट गर्नेहरु वडाअध्यक्ष सरोजकुमार यादवका आफन्त भएकाले दवावमा परेर प्रहरीले आफुहरुको समस्या सुनुवाई नगरेको उनीहरुले गुनासो गरे। पीडित बालकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा समेत उजुरी दिएका छन्। तर, त्यहाँबाट पनि कुनै कारवाही प्रकृया अघि नवढाइएको उनका बुबा प्रमोदले गुनासो गरे।

वडाअध्यक्ष सरोजकुमार यादवले घट्ना भईरहेको वेला आफुलाई फोन गरेर दुवै पक्षले जानकारी गराए पनि कुटपिटको कारण आफुलाई जानकारी नभएको वताए। ‘मेरो जानकारी अनुसार महेशको घरमा ८/१० दिनको नावालक सन्तान छ। पटका पड्काउँदा वच्चालाई डिस्टर्भ भएकाले सोही विषयमा विवाद हुँदा घट्ना भएको भन्ने सुनेको हो’ उनले भने–‘त्यस वाहेकको अर्को जानकारी मलाई छैन।’

झगडाको जानकारी पाएपछि आफुले प्रहरी पठाएर सहयोग गरेको उनको भनाई छ। पीडकको आफन्त भएकाले कारवाही नगर्न प्रहरीलाई दबाब दिएको विषय भने उनले अस्विकार गरे।

यस विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुण्डिराज न्यौपानेले भने कुटपिटका घट्ना धेरै भएकाले कुन घट्ना हो भन्ने नै आफुलाई एकिन नभएको वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट