पत्निको विवाहेत्तर सम्वन्धले पतिको ज्यान गयो, प्रेमीसँग मिलेर गोली हानी हत्या

जनकपुर– विवाहेत्तर सम्बन्धमा रहेकी एक युवतीले प्रेमीसँग मिलेर आफनै पतिको गोली हानी हत्या गराएको घट्नाको बारा प्रहरीले पर्दाफास गरेको छ।
गत असोज ९ गते बाराको पचरौता नगरपालिका–६ स्थित लक्ष्मिनियामा भारतीय नागरिक मोतिहारी जिल्ला दर्पाथाना सुक्लहियाका २२ वर्षिय अजितकुमार सिंहको हत्या भएको थियो। अजितको हत्यामा उनकै पत्नि २३ वर्षिय सोनम सहनी र उनका प्रेमी सुजित सिंहको संलग्नता प्रहरीले पुष्टि गरेको छ।
९ गते साँझ ६ बजे नेपाल भारत सिमानाको ७ सय मिटर नेपालतर्फ गोली हानी हत्या गरिएको घट्नामा मार्ने र मारिने दुवै भारतीय नागरिक हुन्। सोनम बाराको सिम्रौनगढमा डेरा लिएर वस्दै आएकी थिईन।
बाराका एसपी सुरेश काफ्लेका अनुसार अजित र सुजित दुवै एउटै समुहमा रहेर अपराधिक कृयाकलाप गर्दै आएका थिए। करिब ३ वर्षअघि भारतको घोडासनमा सुन लुटपाटको घट्ना अजितको हत्यासँग जोडिएको छ। सुनको ८ लाख नगदबारे उनीहरू बीचमा विवाद थियो।
सुन बेचेको पैसा उनीहरुले भारतको छौंडादानोमा जग्गा प्लटिङमा लगानी गरेका थिए । जग्गाको हिस्साबारे पनि उनीहरुबीच विवाद भयो। पैसाको विषयमा एकपछि अर्को विवाद भएको र समूहमा पनि अजित अगाडी बढ्न खोजेपछि सुजितले उनको हत्या गर्ने योजना बनाएको खुलेको छ।
लामै समयदेखि सुजितसँग अनैतिक सम्वन्धमा रहेकी सोनमले पनि पतिको हत्यामा साथ दिईन। हत्या गर्ने योजनामा दुवैको कुरा मिलेपछि सुजितले आफनो समुहका अन्य युवाहरुलाई पनि यो घटनामा संलग्न गराएका थिए।
हत्या भएको दिन अर्को मोटरसाइकलमा आएका ३ जना युवाले घटनास्थल रेकी गरेका थिए भने सुजित अजितकै मोटरसाईकलमा वसेर आएका थिए। लक्ष्मीनियाँ स्थित पोखरी नजिकै आएपछि मोटरसाइकल रोक्न लगाएर सुजितले अजितलाई गोली हानेको अनुशन्धानले देखाएको एसपी काफ्लेले वताए।
हत्यापछि सुजितले फोन गरेर सोनमलाई पनि डेराबाट भाग्न खवर गरेका थिए। तर, उनी भाग्न नपाउँदै प्रहरीले पक्राउ गर्यो। प्रहरीका अनुसार घट्नामा संलग्न सुजितसहित ४ जना फरार छन् ।