गुँड नै रित्तिन लागेपछि संकटमा बाबुरामः प्रचण्डले पनि भाउ दिएनन्

काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई राजनीतिको गम्भिर मोडमा आईपुगेका छन्। भट्टराई र महेन्द्र राय यादवको घरझगडाले उग्ररुप लिन थालेपछि यो पार्टी विभाजनको डीलमा पुगेको छ ।

मन्त्री महेन्द्र राय यादव माओवादी केन्द्रसँग मिल्ने लाइनमा उभिएका छन् भने पहिले पार्टी एकताको सुरुवात गरेका भट्टराई अहिले विरोधमा देखिएका छन् । पार्टी एकताका लागि भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष यादवलाई सम्बोधन गरेर पत्र पठाएपछि भट्टराई र उनको पक्षका नेताहरु विच्किएका छन्।

नेताहरुका अनुसार आम चुनावभन्दा अगाडि नै माओवादी र नेसपाबीच पार्टी एकताको समझदारी भएको थियो । त्यही समझदारी अनुसार नेसपाका केही नेताले माओवादीको चुनाव चिह्न बाटै चुनाव लडे । प्रचण्डले बाबुरामलाई कार्यबहाक अध्यक्ष र राष्ट्रपतिको आश्वासन पनि दिए। यही आश्वासनका कारण बाबुरामले आफनो निर्वाचन क्षेत्रसमेत प्रचण्डका लागि त्याग गरे।

तर, हुनै पनि आश्वासन पूरा नभएपछि रिसाएका बाबुराम अहिले प्रचण्डसँग मिल्न नसक्ने बताइरहेका छन् । त्यही मौकामा मन्त्री यादव भने एकताको पक्षमा देखिएका छन् । बाबुरामको पार्टीमा बसिरहे अर्कोपटक चुनाव जित्न नसकिने र मन्त्री पद पनि खुस्किने भएपछि यादव चाहिँ माओवादी केन्द्रमा जान खोजिरहेका छन् ।

यादवसँगै सांसद उमरादेवी यादव प्रदेश सांसद रहेका गंगानारायण श्रेष्ठ र फणिन्द्र देवकोटा पनि माओवादीमै जान सक्ने बताइन्छ । श्रेष्ठ वागमती प्रदेशमा आन्तरिक मामिला मन्त्री रहेका छन् । मन्त्री पद गुमाउन श्रेष्ठले नचाहेको पनि बताइन्छ ।

सिन्धुलीमा राजनीतिक भविष्य सुरक्षित गर्नका लागि पनि श्रेष्ठ माओवादीमा फर्किन सक्ने विश्लेषण हुन थालेको हो । देवकोटा पनि गोरखामा बाबुरामको पछि लाग्दा अर्को चुनाव जित्न नसकिने भन्दै माओवादीमै फर्किने चर्चा भइरहेको छ ।

बाबुरामका पिए विश्वदीप पाण्डे पनि प्रचण्ड नजिक भइरहेका छन् । अध्यक्ष यादवसहितका नेता सुरक्षित राजनीतिक भविष्यको खोजीमा लागेपछि भट्टराईको हातवाट राजनीतिको डोरी खुस्किदै गएको विश्लेषकहरु वताउँछन्। पार्टी एकताको सुरुवात गरेर ५ महिनासम्म सेलाएका नेताहरु अहिले एक्कासि जुर्मुराएपछि बाबुरामको संकट बढेको छ।

भट्टराई देश बाहिर (भारतमा) रहेको समयमा माओवादी केन्द्रले पार्टी एकताको लागि भन्दै वरीयता क्रममा दोस्रो नम्बरमा रहेका अध्यक्ष यादवको नाममा पत्राचार गरेपछि नेसपामा थप तरंग पैदा भएको छ। आफुलाई प्रचण्डले वाईपास गरेपछि त झन भट्टराई दाहालसँग रुष्ट हुने नै भए।

त्यसैले अहिले बाबुराम निकै दबाबमा रहेको बताइन्छ । पार्टी एकता गर्न पनि नसकेका र यादवसँगै पार्टीको ठूलो पंक्ति माओवादीमा गइहाल्ने चिन्ता बढेको छ । माओवादीको पत्रले झन पार्टी विभाजनका लागि बाटो खोलिदिएको बताईन्छ ।

नेताहरु बाबुरामले पार्टी बनाउन नसक्ने भन्दै विकल्पको खोजीमा छन्। तर, नेसपाभित्र यादवसँग भन्दा छुट्टै जाने कि भन्ने समूह पनि रहेको छ । यादवसँगै जानेभन्दा अर्को टोली बनाएर माओवादीमा जान सकिनेभन्दै केही नेताहरु अनौपचारिक छलफलमा रहेको स्रोतको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट