प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध उजुरी हालेका पूर्वन्यायाधीशले श्रीमती विरुद्ध पनि हाले मुद्दा

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध संसदीय सुनुवाइ विशेष समितिमा उजुरी हालेर चर्चामा आएका पूर्वन्यायाधीश श्रीकृष्ण भट्टराईले आफनै श्रीमती विरुद्ध पनि मुद्दा हालेका छन्।

दोस्रो विवाह गरेको २४ वर्षपछि जेठी पत्नीविरूद्ध सम्बन्धविच्छेदको मुद्दा हालेका भट्टराईले उनी विरुद्ध फेरि गाली–बेइज्जतीको फिराद हालेका छन्। अदालतमा विचाराधीन सम्बन्धविच्छेद मुद्दाबारे प्रकाशित समाचार फेसबुकमा सेयर गरेर ‘मानमर्दन गरेको’ भन्दै उनले लमजुङ जिल्ला अदालतमा गाली–बेइज्जतीको मुद्दा दर्ता गराएका हुन्।

अर्घाखाँचीका पूर्वजिल्ला न्यायाधीश भट्टराईले वारेसमार्फत् लमजुङ जिल्ला अदालतमा मुद्दा हालेका हुन्। भट्टराईले गत असार २५ गते जेठी पत्नी मिठूविरूद्ध लमजुङ जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएका थिए।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध संसदीय सुनुवाइ विशेष समितिमा उजुरी हालेका श्रीकृष्ण भट्टराईले उनको नियुक्तिपछि ‘नैतिकता देखाउँदै’ जिल्ला न्यायाधीशबाट राजीनामा दिएपछि चर्चामा आएका थिए।

भट्टराईले मिठूसँग ०४२ सालमा र ०५६ मंसिर २६ गते शारदा सिलवालसँग दोस्रो बिहे गरेका थिए। शारदातर्फ उनका एक जना छोराको जन्मसमेत भएको थियो।

आफूविरूद्ध सम्बन्ध विच्छेदको मुद्दा गर्दा गरेपछि मिठूले पनि साउनमा अंश, मानाचामल मुद्दा दर्ता गराएकी छन्। भट्टराईकी कान्छी पत्नी शारदाको भागमा बढी जायजेथा पारिएको भन्दै अंश भरपाई जालसाजीको मुद्दा पनि दर्ता गरेकी छन्।

सम्बन्ध विच्छेदको फिरादमा पूर्वजिल्ला न्यायाधीश भट्टराईले जेठी पत्नीलाई ‘चरित्रहीन’ चित्रण गर्न खोजेका थिए। मीठू आफूभन्दा १० वर्ष जेठो उमेरकी रहेको र बिहेपश्चात् कहिल्यै सम्बन्ध राम्रो नभएको बताएका थिए। गाउँघरतिरका मानिसहरूले जेठी पत्नीको चरित्रबारे प्रश्न उठाउँदा पनि आफू निरीह बन्नु परेको वृत्तान्त लेखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट