दुर्गा प्रसाईलाई ‘हजुरबुबा’ का साईबर सेनाको आक्रमण, युवा संघका कार्यकर्ताले कालोमोसो दलेको पुष्टि

काठमाडौं– झापाको विर्तामोड स्थित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई ०७८ कात्तिकमा झापाबाट माओवादी पत्तासाफ बनाउँने भन्दै नेकपा एमालेमा छिरे।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘हजुरबुबा’ भन्ने प्रसाई उनकै उपस्थितिमा औपचारिक कार्यक्रममार्फत एमाले छिरेका हुन्। प्रसाई अहिले उनै हजुबुबाका साईबर सेनाको आक्रमणमा परेका छन्।

प्रसाईलाई एमाले निकट युवासंघको अगुवाइमा कालोमोसो दलिएको खुलेको छ। सोमबार राजधानीको एल्लो प्यागोडा होटलमा पत्रकार सम्मेलनको आयोजना गरेका प्रसाईलाई निस्कने क्रममा युवा संघको एक समूहले कालोमोसो दलेको हो।

सो क्रममा सहभागीहरुले एमालेको पक्षमा नाराबाजी गरेका थिए। युवा संघका अध्यक्ष क्षितिज थेवेले दुर्गा प्रसाईलाई कालोमोसो दल्ने कार्यमा युवा संघको संलग्नता रहेको स्वीकार गरे। ‘स्वतन्त्र युवाहरु दुर्गा प्रसाईको भड्काउपूर्ण अभिव्यक्ति, संविधानको मर्मविपरीत, संविधानलाई नै कुल्चेर, गणतन्त्रकै खिलापमा दिएको अभिव्यक्तिविरुद्ध उत्रिएका रहेछन्’ उनले भने–‘हाम्रा साथीहरु पनि त्यही हुनुहुँदो रहेछ, स्वतन्त्र युवाहरुको अभियानलाई राम्रो लागेर हाम्रो साथीहरुले पनि सहयोग गर्नुभएको हो।’

स्वतन्त्र युवाहरुको अभियानलाई मन परेपछि युवा संघका कार्यकर्ताहरुले सहयोग गरेको उनको भनाइ छ। राष्ट्रकै अहित हुने र समाजमा विग्रह ल्याउने कार्यमा प्रसाई संलग्न भएको दाबी गर्दै उनले स्वतन्त्र युवाहरुलाई युवासंघले सहयोग गरेर ठीक गरेको प्रतिक्रिया दिए।

एमालेको विधान महाधिवेशनमै सहभागी भएका प्रसाई पछिल्लो समय एमालेबाट टाढा भएका छन्। पहिला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट रहेका उनी माओवादी सशस्त्र विद्रोहको समयमा ६ महिना सैनिक हिरासतमा परेका थिए।

राजनीतिक शक्तिको निकट रहँदै आएका प्रसाईं एमाले र माओवादी मिलाउने भन्दै आफ्नै घरमा दाहाल–ओलीलाई लगेर मार्सी चामलको भात खुवाएर चर्चामा आएका हुन। उनलाई एमालेले केन्द्रीय सदस्य बनाएको थियो। तर, एमाले छँदै राजतन्त्र पुनःस्थापनाको अभियानमा लागेपछि उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको थियो।

प्रसाईले झापाको काँकडभिट्टाबाट ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔं महाअभियान’ सुरु गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहलाई अभिनन्दन गरेका थिए। उक्त कार्यक्रममा पूर्वयुवराज पारस, पूर्वअधिराजकुमारी प्रेरणा र पूर्वशाहाज्यादी सीताष्मा उपस्थित थिए।

यतिमात्रै होईन, उनले बैंक तथा वित्तिय संस्थाको विरोधमा अभियान नै चलाए। बैंकका प्रमुखहरुलाई कारवाही गर्ने भन्दै ‘कालोमोसो दस्ता’ गठन गरे। उनको यो अभियानले केही समय बैंक तथा वित्तिय संस्थामा अराजक्ता नै छाएको थियो। बैंकले लगानी समेत उठाउन नसक्ने अवस्था वन्यो।

उनले ब्यवसायीहरुको विरोधमा समेत भड्किलो अभिब्यक्ति दिदै आएका छन्। समग्रमा विवादित ब्यक्तिका रुपमा उनको पहिचान बनेको छ।

यो पनि हेर्नुहोस…

बैंकका प्रमुखहरुलाई लक्षित गरी ‘कालोमोसो दस्ता’ घोषणा गरेका दुर्गा प्रसाईंलाई कस्ले दल्यो मोसो ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट