श्रीमती र नावालक छोराछोरीको हत्याले घरै अन्धकार भएपछि कतारबाट आईपुगे दीपक

काठमाडौं– श्रीमती र छोराछोरीसहित परिवारका चारै जनाको सामुहिक हत्या भएपछि कतारमा रहेका मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दु गाउँका दीपक बोहोरा शनिवार घर आईपुगेका छन्।

कात्तिक ७ गते टीका थाप्न तीन छोराछोरीसहित माइती गाउँ कोटिला पुगेकी उनकी श्रीमती २८ वर्षीया श्रीदेवी बोहोरा कात्तिक ८ गते घर फर्किईन। उनको घर फर्कने बेलासम्म दीपकसँग भिडियो कलमा कुराकानी भएको थियो। दीपकले हरेक दिन घरमा भिडियो कल गरिरहन्थे। घरमा पुगेपछि पनि उनीहरूले लामो समय कुराकानी गरे।

श्रीदेवीले ‘भोलि बारीमा सिमी उखेल्नुपर्ने छ। काम सकेपछि कुरा गरौंला’ भनेपछि उनीहरुले फोन राखे। दीपकले भोलिपल्ट (कात्तिक ९ गते) बेलुकी ५ बजे श्रीमतीलाई फोन गरे। तर, उनीहरुको सदाझै कुरा हुन सकेन। दीपकले भने–‘म्यासेन्जरमा दुई पटक भिडियो कल गरेँ तर उठेन। मोबाइलमा फोन गर्दा मोबाइल अफ थियो।’

श्रीदेवी छोराछोरीसहित माइत गएको छिमेकीलाई थाहा थियो। तर, उनीहरु फर्किएको भने कसैलाई जानकारी भएन। शुक्रबार (कात्तिक १० गते) बिहानसम्म घरमा ताला लगेकै थियो। त्यसपछि उनकी माइजु रेसा बोहोराले श्रीदेवीको माइतमा फोन गरिन।

‘गाउँमा सबैले सिमी उखेल्न सुरु गरिसके, भान्जीको घरमा ताला लागेको छ। कहिले फर्कने हो?’ भनेर सोधेपछि माईतीबाट उनीहरु बुधबार नै फर्किसकेको जवाफ आयो। त्यसपछि रेसाले छिमेकीहरुलाई वोलाईन र ताला फोडेर हेर्ने सल्लाह भयो।

ढोका खोलेर हेर्दा श्रीदेवीसहित ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहरको विभत्स हत्या भएको देखियो। त्यसपछि तत्काल प्रहरीलाई फोन गरेर जानकारी गराईएको छिमेकीहरुले वताए।

शुक्रबार बिहान ९ बजे मात्रै घट्नाको वारेमा जानकारी पाएको प्रहरीले घटनास्थल सिल गरेर अनुसन्धान सुरु गरेको छ। घटना अनुसन्धानका लागि कुकुरसहितको प्रहरी टोली घटनास्थल छ। नेपालगन्जबाट प्रहरीको फरेन्सिक टोली पुगेपछि शनिवारबाट अनुसन्धान सुरु भएको जनाईएको छ।

प्रहरीले केही व्यक्तिलाई निगरानीमा पनि राखेको छ। प्रारम्भिक अनुसन्धानले धारिलो हतियार र ढुंगा प्रहार गरी आमा र तीन छोराछोरीको हत्या गरेको देखिएको मुगुका डीएसपी वीरेन्द्र थापाले बताए। रिसइबीको कारण उनीहरुको हत्या भएको हुनसक्ने उनको अनुमान छ।

केही व्यक्ति हत्यामा संलग्न भएको आशंका गरिएको र उनीहरूको निगरानीमा सादा पोसाकका प्रहरी खटाइएको थापाले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट