सहकारीको करोडौं घोटाला: श्री एयरलाईन्सका क्याप्टेनसहित ८ जना हिरासतमा

दिक्तेल– खोटाङको दिक्तेल बजारस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले आईतवार पक्राउ गरेको छ।

सहकारीको रकम हिनामिना गरेको आरोप लागेका तत्कालीन अध्यक्ष अनिल जोशीका परिवारसहित ८ जनामध्ये ३ जनालाई प्रहरीले यस अघि नै पक्राउ गरेको छ। अनुशन्धानकै क्रममा उपाध्यक्ष चौलागाईं, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राई पनि पक्राउ परेका हुन।

सहकारीका बचतकर्ताले २ फागुन ०७९ मा सञ्चालक समितिका तत्कालीन अध्यक्ष जोशीको परिवारका ५ सहित ८ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीको आधारमा अध्यक्ष जोशीका भाइ सुनिल जोशी र उनकी श्रीमती रविना श्रेष्ठ (जोशी) लाई १३ असोजमा तथा प्रबन्धक रुकु जोशीलाई १७ असोजमा काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ।

उनीहरु प्रहरी हिरासतमै छन्। पक्राउ परेका सुनिल श्री एयरलायन्सका क्याप्टेनसमेत हुन्। रकम हिनामिनामा उनलाई नै मुख्य दोषी ठानिएको छ।

सहकारीको आर्थिक वर्ष २०७७÷०७८ को लेखा परीक्षण प्रतिबेदन अनुसार सुनिलको परिवारले १ करोड ५० लाखभन्दा बढी ऋण चलाएको छ। सहकारीको नाममा खरिद गरिएको जग्गासमेत जोशीको परिवार तथा आफन्तको नाममा पुगेको छ।

१० मंसिर ०७२ मा दिक्तेल बजारमा कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय तत्कालीन अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको थियो। जोशीको कोरोनाका कारण १५ वैशाख ०७८ मा पोखरामा निधन भएको थियो। उनको मृत्युपछि सहकारीको आर्थिक कारोबार ठप्प छ ।

४ हजार ५ सय बचतकर्ताको रहेको सहकारीमा एकैजनाले ४५ लाखसम्म बचत गरेका छन्। ७४ जना ऋणी छन्। उनीहरुले न्यूनतम ३० हजारदेखि ७५ लाखसम्म ऋण लिएका छन्। सहकारीले साँवाब्याजसहित करिब १० करोड ऋण लगानी छ। बचतकर्तालाई साँवाब्याजसहित ७ करोड फिर्ता दिनुपर्ने देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट