प्रअको मृत्यु प्रकरणः सिरहाका शिक्षक आन्दोलित, जिल्लाका सवै विद्यालय वन्द गर्ने घोषणा

लहान– सिरहाको गोलबजार नगरपालिका ३ तेतरियास्थित सरस्वती माविका प्रधानाध्यापक संजिवकुमार साहको शंकास्पद मृत्युलाई प्रहरीले आत्महत्या वताएपछि शिक्षकहरु आन्दोलित भएका छन्।

मिर्चैया बजारमा घर भएका ५१ वर्षीय साह आइतबार बिहान साढे १० बजे आफ्नै विद्यालयमा मृत फेला परेका थिए। कार्यालय भवनको तेस्रो तल्लामा पासो लागेको अवस्थामा उनको शव फेला परेको थियो।

मोटरसाइकल चढेर विद्यालय पुगेपछि उनले कार्यालय सहयोगीलाई रिचार्ज कार्ड किन्न पठाएर आफू विद्यालयको चेनगेट बन्द गरेर तीनतला माथि गएर आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ।

तर, शिक्षकहरुसँग सम्बन्धित संघ÷संगठनहरुले प्रधानाध्यापक साहको मृत्युलाई शंकास्पद भन्दै सुक्ष्म अनुशन्धानको माग गरेका छन्। मृतकको शव पोष्ट मार्टमका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल पठाईएको छ, प्रतिवेदन आएको छैन।

शिक्षहरु भने सत्यतथ्य छानविनको माग गर्दै आन्दोलनमै उत्रिएका छन्। उनीहरुले सोमबार गोलबजारस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शनसमेत गरे भने गोलबजार नगरपालिका क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गरे।

मंगलबारदेखि सिरहा जिल्लाभरिका विद्यालय अनिश्चित कालको लागि बन्द गर्ने घोषणा गरेका छन्। मृतक शिक्षककी पत्नीलाई योग्यता अनुसारको रोजगारी, बालबालिकाहरुको पठनपाठनको उचित प्रबन्ध, विद्यालय परिसरमा स्वर्गीय शिक्षक साहको शालिक निर्माण, शान्ति सुरक्षाको प्रत्याभूति, विद्यालयमा राजनीतिक हस्तक्षेप बन्द, शिक्षक साहलाई सहिद घोषणा लगायतका माग अघि सारिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी टेकुनन्द इबा लिम्बुले भने घटनाको प्रकृति र प्रारम्भिक अनुसन्धानले शिक्षक साहले आत्महत्या गरेको हुन सक्ने बताए। उनले शिक्षक साहका परिवारका सदस्यको सहमतिमै राम्रो पोष्टमार्टमको लागि शव त्रिवि शिक्षण अस्पताल काठमाडौँ पठाइएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट