पश्चिम सीमामा भारतको दादागिरीः दशगजा मिचेर सीमास्तम्भसम्मै कालोपत्रे सडक

काठमाडौं– नेपाल–भारतको पश्चिमी सीमाना कन्चनपुरको गड्डाचौकी क्षेत्रको दशगजामा भारतले कालोपत्रे सडक निर्माण गरेको छ। सीमा सम्वन्धि अन्तर्राष्ट्रिय मापदण्डको उलंघन गर्दै भारतले नेपाल–भारत सीमाको ७ नम्बर पिल्लरसम्म सडक निर्माण गर्दा समेत नेपाली पक्ष भने मुकदर्शक बनेको छ।

दशगजाको नेपालतर्फ बाटो भने कच्चि छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजा क्षेत्रमा कुनै संरचना बनाउन नपाउने भन्दै बाटोमा ग्राभेल हाल्न समेत दिएको छैन। तर, भारततर्फ भने मर्मतका नाममा कालोपत्रे सडक निर्माण गरिएको छ।

सीमामा खटिएको सशस्त्र प्रहरी भने त्यहाँ पहिलेदेखि नै कालोपत्रे सडक रहेको र अहिले फराकिलो बनाएर मर्मत गरिएको जनाएको छ। भीमदत्त नगरपालिका– ११ का अध्यक्ष प्रकाश थापाका अनुसार ३ मिटर चौडा रहेको कालोपत्रे सडक अहिले फराकिलो बनाएर ४ मिटर बनाइएको छ। दशगजा क्षेत्रमा संरचना बनाउँदा भने नेपालतर्फ समन्वय नगरिएको उनको भनाई छ।

दशगजा क्षेत्रमा कुनै पनि संरचना बनाउन नपाउने सीमा सम्बन्धी अन्तर्राष्ट्रिय मान्यता छ। भारतले अन्तर्राष्ट्रिय प्रावधान विपरित गड्डाचौकीमा सिमास्तम्भसम्मै सडक निर्माण गरेको हो। सडक निर्माण गर्दा नेपाली प्रशासनलाई भारतीय पक्षले कुनै जानकारी गराएको छैन।

कञ्चनपुरका सीडीओ गोपाल कुमार अधिकारीले सशस्त्र प्रहरीलाई त्यसबारेमा रिपोर्ट गर्न भनेको बताए। यता, भारतले विभिन्न बहाना बनाएर कञ्चनपुरको ब्रह्मदेव, जिमुवा, बेलौरीलगायत क्षेत्रमा विकासको मुख्य पूर्वाधार सडक निर्माणमा भने अवरोध पुर्याएको छ।

भारतले ब्रह्मदेवमा जैविक मार्गअन्तर्गत पर्ने डेढ सय मिटर सडक निर्माण गर्न दिएको छैन भने भीमदत्त नगरपालिकाले कालोपत्रे गर्न ६० लाख रुपैयाँमा छुट्याएको सडक निर्माणमा अवरोध गरेको छ। ब्रह्मदेव बजार नजिकै पानी जम्ने ठाउँमा कलभर्ट राख्न खोज्दा पनि अवरोध गरिएको छ।

भीमदत्त नगरपालिका–१० जिमुवा चौकी नजिक दशगजा क्षेत्रमा पर्ने सडकमा पनि भारतीय पक्षले ग्राभेलमा अवरोध गरेको छ। बेलौरी नगरपालिका–८ पचुईमा पनि भारतीय पक्षले हुलाकी सडक निर्माणमा अवरोध गरेको स्थानीय जनप्रतिनिधिहरु वताउँछन्। बेलौरी नगरपालिका–८ का अध्यक्ष विषराम रानाका अनुसार हुलाकी सडकअन्तर्गत पचुई–पौलाह जोड्ने १२ सय मिटर सडक निर्माणमा भारतले अवरोध गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट