निलम्बित सांसद अनिरुद्रप्रसाद सिंहलाई धरौटीमा छोड्न उच्च अदालतको आदेश

राजविराज– कर्तव्य ज्यान तथा डाँका मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका मधेश प्रदेशका निलम्बित सांसद अनिरुद्रप्रसाद सिंहलाई धरौटीमा छोड्न उच्च अदालत राजविराज इजलासले आदेश दिएको छ।
जिल्ला अदालत सप्तरीको आदेशले दुई महिनादेखि पुर्पक्षका लागि कारागारमा रहेका सिंहलाई उच्च अदालत जनकपुरको राजविराज इजलासले धरौटीमा छाड्न आदेश दिएको हो।
बिहीबार उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र पूर्णप्रसाद राजवंशीको इजलासले जिल्ला अदालत सप्तरीले १९ भदौको आदेश बदर गर्दै १ लाख २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
सप्तरी जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले सिंहलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो ।
१६ वर्षअघिको एक हत्या मुद्दामा सिंहलाई प्रहरीले १८ भदौ ०८० मा पक्राउ गरेको थियो। अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान भएपछि उनी प्रदेशसभा सदस्यबाट निलम्बित भएका थिए।
माओवादी नेता दीपु भनिने गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ सालदेखि चलेको मुद्दामा सिंहसमेत आरोपी थिए । उनीमाथिको यो मुद्दा त्यतिबेलादेखि नै मुल्तबीमा रहेको थियो ।
९ असार ०६४ मा तत्कालीन खोक्सर प्रवाहा गाविस १ का ३२ वर्षीय दीपु भनिने गोविन्द चौधरीको हत्या भएको थियो । मृतककी दिदी रीताकुमारी चौधरीले १४ असार ०६४ मा सिंहसहित ९ जनाको नाममा किटानी जाहेरी दिएकी थिइन् । त्यतिवेला देखि नै सिंह फरार सूचीमा थिए।
जनता समाजवादी पार्टीमा रहेका सिंह प्रहरीको फरार सूचिमा रहेकै बेला गत निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४(२) बाट स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए।