सुडानको पश्चिमी डार्फरमा भएको सशस्त्र विद्रोहमा छ महिनाभित्र ८ सय बढिको मृत्यु

काठमाडौं– सुडानको पश्चिमी डार्फरको आर्दमतामा सशस्त्र विद्रोहमा पछिल्लो छ महिनामा आठ सयभन्दा बढी मानिस मारिएको र ४८ लाखभन्दा धेरै विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तलेले जनाएका छन्।

सुडानको डार्फर क्षेत्रमा बढ्दो हिंसाले दुई दशकअघि गरिएको अत्याचार दोहोरिनसक्ने आशङ्का गरिएको राष्ट्रसङ्घको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ। आर्दमतामा आन्तरिकरूपमा विस्थापित मानिसहरूका लागि एउटा शिविर पनि थियो।

विज्ञप्तिमा करिब एक सय आश्रयस्थललाई नष्ट गरिएको र युएनएचसिआरको राहत सामग्रीसहित व्यापक लुटपाट भएको पनि उल्लेख छ। दुई दशकअघि डार्फरमा हजारौं मानिस मारिएका थिए। राष्ट्रसङ्घका अनुसार जान्जिवाद नामक सहयोगी मिलिसियाद्वारा समर्थित सुडानी सरकारी सेना र राष्ट्रपति उमर अल–बशिरको निरङ्कुश शासनको विरोध गर्ने विद्रोही समूहरूबीचको सङ्घर्षमा लाखौँ मानिस विस्थापित भएका थिए। राष्ट्रपति अल–बशिरलाई अपदस्थ गरिएको थियो।

नरसंहारको रोकथामका लागि गत जुनमा राष्ट्रसङ्घका विशेष सल्लाहकार एलिस वाइरिमु नदेरितुले पश्चिम डार्फरमा जातीयताका आधारमा सङ्घर्ष भइरहे यो युद्ध अपराध र मानवताका विरुद्ध अपराध हुनसक्ने चेतावनी दिएका थिए।

युएनएचसिआरले निरन्तररूपमा यौन हिंसा, यातना, स्वेच्छाचारी हत्या, सर्वसाधारणसँग जबर्जस्ती असुली र विशिष्ट जातीय समूहहरूलाई निशाना बनाइएको रिपोर्टप्रति चिन्ता व्यक्त गरेको छ।

मध्य अप्रिलमा सेना र र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) नामक अर्धसैनिक समूहबीच सङ्घर्ष सुरु भएपछि सुडानभित्र ४८ लाखभन्दा धेरै सर्वसाधारण विस्थापित भएका छन्। यसका साथै १२ लाख मानिस छिमेकी देशमा शरण लिएका छन्। युएनएचसिआरका अनुसार पछिल्लो एक सातामा मात्र आठ हजारभन्दा बढी मानिस चाडतिर भागेका छन्।
– एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट