महोत्तरीमा प्रहरीले गोली हानेर दुई जना डाका समात्यो, दुवैको खुट्टामा गोली

जनकपुर– कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवारामा भएको डकैतीमा संलग्न २ जनालाई गोली हानेर प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको गोली लागेर सर्लाहीको लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान घाईते भएका छन्। दुवै जनालाई बायाँ खुट्टामा गोली लागेको छ । उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।
मंगलबार दिउँसो रौतहटको गरुडाबाट प्रहरीले दुबैजनालाई पक्राउ गरेको थियो। महोत्तरी ल्याउने क्रममा सर्लाहीको संग्रामपुर भन्ने स्थानमा आइपुग्दा उनीहरु भाग्न खोजेपछि गोली हान्नु परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिलीपकुमार गिरीले बताए।
रातिको करिव १० बजे महोत्तरीको सीमा सोनमा गाउँपालिका ५ मा प्रहरीको गाडी बिग्रिएपछि अर्को गाडीमा चढाउने क्रममा उनीहरु हतकडीसहित भाग्न खोजेका थिए। त्यसपछि प्रहरीले ३ राउण्ड गोली प्रहार गरेको गिरीको भनाई छ।
गिरीका अनुसार यही कात्तिक २० गते बिहान साढे २ बजे उनीहरुसहित ७÷८ जनाको समूहमा आएका डाँकाहरुले महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा हतियार देखाएर लुटपाट गरेका थिए ।
त्यसक्रममा घरपरिवारका सदस्यहरुलाई कुटपिट गरी ४० तोला सुुनका गहना, चाँदीको ४५ तोला गहना, आई फोन एक थान र नगद १ लाख ७५ हजार डकैती भएको प्रहरीको भनाइ छ। घट्नाको अनुसन्धानका क्रममा दुवै जना पक्राउ परेका हुन।
शक्तिको साथबाट १ थान कटुवा पेस्तोल र ४ राउण्ड गोली समेत बरामद भएको छ।
सम्बन्धित खबर