३ करोड प्रकरणमा रविको चलाखीः डिपी र मुकुललाई जोगाउन मोहनको राजिनामा, प्रतिवेदन गायव
राजविराज– रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा सोमबारदेखि जारी छ।
आजको बैठकमा संसदीय दल र पार्टीको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। सभापति लामिछानेको प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने र त्यसपछि महाधिवेशन प्रक्रियाबारे छलफल हुने जनाईएको छ।
संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टीको दीर्घकालीन नीति तय गर्ने उपसभापति डोलप्रसाद (डिपी)अर्यालले जानकारी दिएका छन्।
प्रदेश सभापतिहरू पनि सहभागी बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगले आफ्ना प्रतिवेदन प्रस्तुत गरिसकेका छन्।
तर, यसअघि सांसद ढाका कुमार श्रेष्ठलाई स्वास्थ्यमन्त्री बनाउन तीन करोड मागेको आरोप लागेका केन्द्रीय सदस्य मोहन थापाको विषय बैठकमा गुपचुप गराईएको छ।
रास्वपाका तत्कालीन सांसद श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न दुर्गा प्रसाईँसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई कारबाही गरेको थियो। सांसदबाट निकालिएपछि श्रेष्ठले आफूलाई मन्त्री बनाउन तीन करोड माग्नेमा थापासहितको टिम रहेको दाबी गरेका थिए।
त्यसपछि पार्टीले छानबिन गर्न समिति बनाएको थियो। तर, पैसा माग्नेमा थापासहित पार्टी सभापति रवि लामिछाने निकट नेताहरू उपाध्यक्ष डिपी अर्याल र अर्का केन्द्रीय सदस्य दीपक बोहोरासमेत जोडिएपछि छानविन समितिको प्रतिवेदन पार्टीले गोप्य राखेको छ।
लामिछानेको कोर टिमले मन्त्री बनाउन आफूसँग पैसा मागेको ढाकाको दाबी आन्तरिक अनुसन्धानमा पुष्टि भएपछि आफू निकटका नेताहरूलाई समेत कारबाही गर्न दबाब आउने भएकोले लामिछाने आफैँ मोहनलाई राजीनामा गराउने बाटो खोजेका थिए।
सोही रणनीति अनुसार मोहनले केन्द्रीय सदस्यबाट राजीनामा दिएको र राजिनामा स्वीकृत भईसकेको जनाईएको छ। तर, यो सवै प्रकरण पार्टीले गोप्य राखेको छ। केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकमा समेत यसबारे औपचारिक जानकारी गराइएको छैन। तर अनौपचारिकरुपमा थापाले राजीनामा दिएको र सो स्वीकृत समेत भइसकेको अधिकांश केन्द्रीय नेताहरू जानकार छन्।
थापामाथि लागेको आरोपबारे छानबिन गर्न पार्टीले अनुशासन आयोगलाई जिम्मेवारी दिएको थियो। आयोगले आरोप पुष्टि हुने कुनै प्रमाण फेला नपरेको दाबी गर्दै अनुसन्धान टुङ्ग्याएको दाबी गरेको थियो। अनुशासन आयोगका प्रमुख डा. भरतमणि देवकोटाले थापाले पैसा मागेकोबारे प्रमाण रहेको पार्टी सभापति लामिछानेलाई जानकारी गराएपछि स्वैच्छिक राजीनामाका लागि उनलाई मनाउने उपाय अपनाएको स्रोतको दावी छ।
प्रारम्भिक चरणमा थापाले डिपी अर्याल र दीपक बोहोरामाथि पनि कारवाही गर्नु पर्ने अडान राखेर राजिनामा नदिने बताएका थिए। तर, राजिनामाको कुरा पनि गोप्य राख्ने सर्तमा उनले राजिनामा दिएको स्रोत बताउँछ।
लामिछाने अमेरिकामा रहँदा उनलाई सहयोग गर्नेमध्येमा थापा पनि थिए। आपराधिक पृष्ठभूमि भए पनि अमेरिकामा लगाएको गुन तिर्न लामिछानेले उनलाई केन्द्रीय सदस्य बनाएका थिए।