ओलीलाई ९ वर्षिय बालकको पत्रः पेट पाल्न विदेश जानु पर्ने अवस्थाको अन्त्य होस
राजविराज– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका एक ९ वर्षिय बालकले पेट पाल्नका लागि विदेश जाानु पर्ने अवस्थाको अन्त्य गर्न माग गरेका छन्।
गुर्भाकोट नगरपालिका १०, भेडाबारीका बालक किशोर पौडेलले पत्र लेखेर ओलीलाई यस्तो आग्रह गरेका हुन। उनले लेखेका छन्–‘सम्माननिय पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ज्यू, म र म जस्ता बालबालिकाहरु युवा अवस्थामा पुग्दासम्म पेट पाल्नका लागि विदेश जानै पर्ने अवस्थाको अन्त्य गरिदिनु हुन अनुरोध गर्दछु।’
ओलीले एउटा स्ट्याटससहित उक्त पत्र आफनो फेसबुकमा पोष्ट गरेका छन्। उनले लेखेका छन्–‘हाम्रो यात्रा सुर्खेतबाट सल्यान हुँदै जाजरकोटतिर लाग्दै थियो। हिँडने बेलामा ९ वर्षीय बाबु किशोर पौडेलले एउटा सानो चिट्ठी हातमा थमाए। स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह दिए।’
ओलीले अगाडि लेखेका छन्–‘मैले सोचें – हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नु पर्छ। ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौं। सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन्। यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ।’
अन्त्यमा उनले लेखेका छन्–‘सम्बन्ध स्थानीय – सन्देश राष्ट्रिय’