युरोप जाँदै गरेको पानीजहाज लिवियाको तटमा पल्टिँदा ६१ आप्रवासीको मृत्यु

काठमाडौं– लिवियाबाट युरोप जाँदै गरेको पानी जहाज लिबियाको तटमा दुर्घटना हुँदा कम्तिमा ६१ जना आप्रवासीको डुबेर मृत्यु भएको छ।
शनिबार उक्त जहाज लिबियाको तटीय सहर जुवाराबाट ८६ यात्रु लिएर प्रस्थान गरेको थियो। बीबीसीका अनुसार युनाइटेड नेसन्स एजेन्सी इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले बाँचेकाहरूलाई उद्धृत गर्दै समुद्रको उच्च छालले डुंगा पल्टिएको हो।
दुर्घटनामा बालबालिकासहित ६१ जना बेपत्ता भएका छन्। उनीहरूको मृत्यु भएको अनुमान गरिएको छ। लिबिया अफ्रिकाबाट भूमध्यसागर पार गर्न खोज्ने आप्रवासीहरूको मुख्य केन्द्र हो।
यो वर्ष मात्रै यस्ता प्रयासका क्रममा २ हजार २ सयभन्दा बढीको डुबेर मृत्यु भएको आईओएमको अनुमान छ।
एएफपीको रिपोर्टअनुसार आईओएमले यो दुर्घटनामा मर्ने अधिकांश नाइजेरिया, गाम्बिया र अन्य अफ्रिकी देशका नागरिक रहेको बताएको छ।