बालकृष्ण खाण कोईराला क्याम्पमा खुल्ने चर्चाले कांग्रेसमा तरंग
काठमाडौं– कांग्रेसमा भुँईचालो जाने खतरा, पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसमा प्रभावशाली मानिने नेता बालकृष्ण खाण ७ महिना थुनामा बसेर २९ मंसिरमा शुक्रबार रिहा भएका छन्। अदालतको आदेश अनुसार ३० लाख र सम्पत्ति सुद्धिकरणमा १५ लाख गरी जम्मा ४५ लाख रुपैयाँ धरौटी वुझाएर उनी केन्द्रीय कारगारबाट घर फर्किए।
खाणलाई गत २७ वैशाखमा चाबहिलस्थित उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। गृहमन्त्री छँदा नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुलिरहेको एउटा गिरोहलाई सहयोग र संरक्षण दिएको मुख्य अभियोग उनीमाथि छ।
भुटानी शरणार्थी प्रकरणका अभियुक्त खाण सार्वजनिक जीवनमा फर्केसँगै अब ‘के उनी सक्रिय राजनीतिमा पनि फर्कन सक्छन?’ भन्ने आम चासोको विषय वनेको छ। यस विषयमा उनले मुख खोलिसकेका छैनन्। तर, राजनीतिमा लागेरै पहत्वपूर्ण पदमा वसिसकेका खाणलाई त्यो लतले छुटकारा देला भन्ने अवस्था भने छैन।
उसो त, कांग्रेस नेतृत्वका निम्ति उनी कति प्रिय, महत्वपूर्ण र अपरिहार्य छन् भन्ने कुरा त उच्च अदालतमा खाणको निवेदनमा बहस भइरहँदा सभापति शेरबहादुर देउवाले उनकै गृहजिल्ला पुगेर ढुक्कैले ‘न्याय पाउने विश्वास’ व्यक्त गरेबाट सावित भैहाल्छ।
विचाराधीन मुद्दामा सत्तारुढ दलका सर्वोच्च नेताको यो अभिव्यक्ति स्वतन्त्र न्यायालय र स्वच्छ सुनुवाइको अभ्यासका निम्ति कति ग्राह्य रह्यो भन्ने कुरा नेपाल बार एसोसिएसन र न्यायाधीश समाज उसै गरी मौन वस्यो।
खाण जेलमै रहँदा कांग्रेस सभापति देउवाकै हातबाट सार्वजनिक मञ्चमा ‘सम्मान’ गरेको विषय कसैबाट छिपेको छैन। त्यसैले कांग्रेसमा अहिले पनि उनको पकड बलियो छ। आन्तरिक समीकरण यताउता पार्न सक्ने तागत उनीसँग छ।
तर, जेल बसाईपछिको उनको राजनीतिक यात्रा भने उपसभापतिका लागि हुने विश्लेषकहरुले अड्कल लगाउन थालेका छन्। उनको उदेश्य यही नै हो भने कांग्रेसभित्रको आन्तरिक राजनीतिमा भुकम्प जाने खतरा छ। कांग्रेस स्वयम सहभागि भएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले आफुलाई जेल पुर्याएपछि उनी देउवासँग रुष्ट छन्।
त्यसले खाणको अवको राजनीतिक यात्रा संस्थापनइतर समुहबाट हुने अड्कलन गर्न सकिन्छ। स्रोतका अनुसार आगामी महाधिवेशनमा खाँण कोइरालालाई सभापति मानेर उपसभापति बन्ने लगभग तय भएको छ।
देउवा क्याम्पबाट १५औं महाधिवेशनमा सभापतिका निश्चित उम्मेदवार रहेका खाणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल पुर्याएको र रिहाईका लागि पनि सहयोग नगरेकाले उनले देउवालाई छोडेर कोईराला क्याम्प समाउने जानकारहरु वताउँछन्।
जेलमा एक पटक पनि भेट्न नगएका देउवा र उनका क्याम्पका नेताको शैलीले खाँण रुष्ट भएको तथा पटक पटक जेलमा भेट्न गएका कोईरालासँग नरम देखिएको कतिपय नेताहरु वताउँछन्। ‘सुन प्रकरणमा माओवादी केन्द्रका उपसभापति कृष्णबहादुर महराले उन्मुक्ति पाउने तर त्यहि सरकारलाई काँध थापेर बसेको कांग्रेसका नेताले जेल जानु पर्ने अवस्था श्रृजना भयो’ एक नेता भन्छन्–‘यो अवस्थाले नेतृत्वको नियतमा प्रश्न उठ्नु स्वभाविक छ।’
जानकारहरुका अनुसार देउवाले आगामी महाधिवेशनमा नेतृत्वबाट अलग हुँने र पत्नी आरजु राणालाई नेतृत्वमा ल्याउन चहेका छन्। त्यसका लागि डा. शशांक कोइरालालाई सभापतिको उम्मेदवार बनाउने प्रस्तावसहित उपसभापतिमा राणाको पद निश्चित भइसकेको स्रोतको भनाई छ।