छोरा नपाएको भन्दै पतिले त्यागेकी महिलाको हत्या, पत्करले छोपेर कस्ले लुकायो शव ?

दिक्तेल– खोटाङमा छोरा नपाएको भन्दै पतिले दुःख दिन थालेपछि सम्वन्ध विच्छेद गरेर माईती घरमा वस्दै आएकी एक महिलाको हत्या भएको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित नाखामकी ३६ वर्षीया पवित्रा तामाङ मंगलबार मृत फेला परेकी छन्। उनी तेह्र दिनदेखि बेपत्ता भएकी थिईन।

१९ मंसिरदेखि घरबाट बेपत्ता भएकी पवित्राको शव घरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको बर्खेगोठमा फेला परेको प्रहरीले जनाएको छ। उनको शव पत्करले छोपेको अवस्थामा फेला परेकाले कसैले हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

आफन्तको भनाईका आधारमा १९ मंसिरको राती ८ बजेसम्म उनी टिभी हेरेर बसेकी थिइन्। भोलिपल्ट बिहान नदेखिएपछि उनको खोजी सुरु भएको थियो। आफन्तले खोजतलासका लागि २३ मंसिरमा प्रहरीलाई खबर गरेका थिए।

खोजतलासकै क्रममा १३ दिनपछि उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता बेनु कार्कीले जानकारी दिए। उनका ४ छोरी छन्। श्रीमानले ‘छोरी मात्रै पाएको छोरा नजन्माएको’ भन्दै विवाद गर्न थालेपछि तीन छोरी घरमै छोडेर कान्छि छोरीसहित उनी माईतीमा वस्न थालेकी थिईन।

९ महिनाअघि उनीहरुको सम्बन्धबिच्छेद भएको प्रहरीले जनाएको छ। पवित्राको शव शंकास्पद अवस्थामा भेटिएकाले अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट