सेनाको हेलिकप्टर दुरुपयोग गरी प्रचण्डको सम्धी भेटघाट, फोटोले ततायो सामाजिक सञ्जाल

काठमाडौं– जनवादी विवाहका नाममा जनताका छोराछोरीलाई विवाहको प्रकृयासमेत पुरा गर्न नदिएका प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहालले नातिनी प्रतिभा पाठक (रेणु दाहालकी छोरी) को खर्चिलो विवाह गरेको भनेर आलोचना खेपे।

त्यो आलोचना सेलाउन नपाउँदै सेनाको हेलिकप्टर दुरुपयोग गरी सम्धी भेटघाट गरेको भन्दै फेरी आलोचना सुरु भएको छ। बुधबार मात्रै सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा तस्विरमा नातिनी ज्वाइँ विज्ञानवावु रेग्मीसहित दाहाल परिवार सेनाको हेलिकप्टर अगाडि उभिएको देखिन्छ।

तस्बिर दाहालका ज्वाइँको घर भएको गोरखाको गण्डकी गाउँपालिका–७, घ्यालचोकको हो। तस्बिरमा दाहालको परिवारसँगै उनका ज्वाइँको परिवार पनि अटाएको छ। स्रोतका अनुसार प्रधानमन्त्री दाहाल नातिनी र ज्वाइँलाई भेट्न हेलिकप्टर लिएर घरमै पुगेका थिए।

पछि सम्धी–सम्धिना, नातिनी र ज्वाइँसहित दाहालले आफू चढेर गएको हेलिकप्टरलाई पृष्ठभूमिमा राखेर तस्बिर खिचाएका थिए। कार्यक्रममा सहभागी एक नेताका अनुसार दाहाल स्वयम्ले फोटो खिचौं भनेपछि खिचिएको थियो।

प्रधानमन्त्री दाहालले हिजोमात्रै आफू सुशासनको पक्षमा रहेको अभिव्यक्ति दिएका थिए। साथै आफू काममा दत्तचित्त हुने र फजुल काममा समय नखर्चिने बताएका थिए।

उनको सचिवालयले भने गोरखा पुगेका बेला दाहाल निर्वाचन क्षेत्र गोरखा पुगेको बेला आफन्तसँग भेट भएको र त्यतिबेला लिइएको तस्बिर भएको दावी गरेको छ। दाहालका निजी सचिव रमेश मल्लले फेसबुकमा स्टाटस लेख्दै यस्ता गलत भ्रम फैलाएर प्रधानमन्त्रीको राजनीतिक प्रतिवद्धतालाई कमजोर पार्न कोशिस भइरहेको जनाएका छन्।

उनले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू आज आफ्नो निर्वाचन क्षेत्र गोरखा कार्यक्रममा गएको बेला आफन्तसँग भेट भएको र त्यतिखेर लिएको तस्वीरलाई लिएर सामाजिक सञ्जालमा गलत ढंगले अफवाह फैलाउने काम भैरहेको छ। यस्ता गलत सूचना फैलाएर सम्माननीय प्रधानमन्त्रीज्यूको राजनीतिक प्रतिबद्धतालाई कमजोर पार्ने कोशिस भइरहेको छ। यस प्रकारको गलत सूचनाको भ्रममा नपर्न हामी सबैमा हार्दिक आग्रह गर्दछौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट