रवि लामिछानेले खोया खाए, तर हान्ने ‘नियत पुष्टि’ नभएपछि छुटे रानाभाट

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया प्रहार गरेको आरोपमा पक्राउ परेका लमजुङको राइनास नगरपालिका–८, भाटगाउँका सन्तोष रानाभाट मंगलबार छुटेका छन्। जिल्ला प्रशासन कार्यालयले उनलाई साधारण तारेखमा छाडेको हो।

रवि लामिछानेलाई नियतवश खोया प्रहार गरेको पुष्टि नभएपछि उनी साधारण तारेखमा छुटेको कास्की प्रहरीका एसपी मोहन थापाले बताए। प्रहरीसँगको बयानमा पनि रानाभाटले आफूले जानी जानी लामिछानेलाई खोया प्रहार नगरेको बताएका थिए।

‘मैले खोया हानेको होइन, मकै खाएर फाल्दा त्यता गएछ’ भन्दै उनले प्रहरी समक्ष वयान दिएका थिए। लामिछानेले भाषण गर्दै गर्दा रानाभाटले फालेको खोया स्टेजमा पुगेको थियो। त्यसपछि लामिछानेले उक्त खोया देखाउँदै आफूले घरमा लगेर सजाउने भाषण गरेका थिए।

लामिछानेले कुनै कारबाही नगर्न स्टेजबाटै प्रहरीलाई अनुरोध गरे पनि सार्वजनिक शान्ति भंग गरेको आरोपमा प्रहरीले रानाभाटलाई पक्राउ गरेको थियो। ८ पुसमा पक्राउ परेका रानाभाटलाई जिल्ला प्रशासन कार्यालयले अनुसन्धानका लागि भन्दै १० दिन हिरासतमा राख्न अनुमति दिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट