रुसी सेनामा पठाउने गिरोहले अध्यागमन र एयरलाइन्सका कर्मचारीलाई कति दिन्थे घुस ?
काठमाडौं– नेपालीलाई रुसी सेनामा पठाउने गिरोह पक्राउ पर्न थालेपछि विमानस्थलमा कार्यरत अध्यागमन विभाग र एयरलाइन्सका कर्मचारीहरुको पनि पोल खुल्न थालेको छ। गिरोहले उनीहरुलाई घुस दिएर सेटिङ मिलाउने गरेको खुलेको छ।
पक्राउ परेका मुस्ताङ इमिरेट्स ट्राभल्स एण्ड टुर्स कम्पनीका सञ्चालक रबिन घिमिरेले आफूले विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारी र एयरलाइन्सका कर्मचारीलाई घुस दिएर मिलाएको बयान दिएका छन्।
अध्यागमन विभागका शाखा अधिकृत राम स्वर्णकारलाई हरेक व्यक्ति पठाउँदा २८ हजार रुपैयाँ र एयर अरेबियाका कर्मचारी जीवन न्यौपानेलाई प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले दिएको बयान दिएका छन्। यसरी १४÷१५ जनालाई पठाइसकेको उनको बयान छ।
नेपाल प्रहरीका जवान रुसी सेनाबाट भागेर नेपाल फर्किएसँगै यो गिरोहको खुलासा भएको हो। उनले ट्राफिक प्रहरी बृत्त गौशलामा कार्यरत प्रहरी जवानलाई रसियामा भिजिट भिसामा पठाएका थिए।
तर युक्रेनी सेनासँगको भिडन्तमा घाइते भएपछि अस्पताल भर्ना भएका ती प्रहरी जवान अस्पतालबाट भाग्न सफल भएका थिए। उनी दूतावासको सहयोगमा नेपाल आएका हुन्। उनले नेपाल फर्किएपछि आफूलाई त्यहाँ पठाउने गिरोहकाविरुद्ध उजुरी गरेका थिए।
उनको उजुरीमा अनुसन्धान सकेर जिल्ला अदालत काठमाडौंमा चार जनाविरुद्ध मानव बेचविखनविरुद्धको कसुरमा मुद्दा दायर भएको छ। अन्य उजुरीका आधारमा अरुविरुद्ध पनि मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ। ती जवानलाई प्रतिमहिना ३ लाख रुपैयाँ कमाइ हुन्छ भन्दै पठाएका थिए।
उनलाई रसिया पठाउन संलग्न रहेको आरोपमा तेह्रथुमका शंकर लिम्बु, मोरङका राजीव भन्ने गोबिन्द रिमाल, मोरङकै रबिन घिमिरे र रुकुम पश्चिम घर भई विमानस्थलमा कार्यरत अधिकृत नरबीर खड्कालाई प्रहरीले पक्राउ गरेको थियो।
उनलाई रुस पठाउन गिरोहले नेपाली ३ लाख ५० हजार रुपैयाँ लिएको थियो। रुसमा पुगेपछि एयरपोर्टमा लिन आएका व्यक्तिले थप ४०० अमेरिकन डलर लिएका थिए। सुरुमा शंकर लिम्वुले उनीसँग रकम लिएका थिए। उनलाई अध्यागमनमा मिलाउन भन्दै १ लाख ४० हजार रुपैयाँ र दुवईसम्म जाने भिसाको लागि १ लाख रुपैयाँ मागेका थिए।
२०८० असोज १ गते ती प्रहरी जवानलाई उनीहरुले नेपालकै विभानस्थलबाट दुबई र त्यहाँबाट रुस पठाएका थिए। रुस पुगेपछि उनलाई मस्कोमा सेनाको क्याम्पमा लगेका थिए। क्याम्पमा पुगेपछि उनलाई बाहिर जान दिइएको थिएन। यसरी पुगेका व्यक्ति भाग्लान भनेर रुसी सेनाले डीयूटी गर्थे।
१५ दिन त्यहाँ तालिम दिएर उनीहरुलाई सिधै युक्रेनको बखमत भन्ने ठाउँमा युक्रेनसँग भिड्न लगिएको थियो। युद्ध लडन युक्रेनतर्फ अगाडि नबढ्दा रसियन सेनाका कमाण्डरले गोली हान्छु भन्दै धम्की दिन्थे। युद्धकै क्रममा ती प्रहरी जवान युक्रेनी सेनाले ड्रोनबाट हानेको बम लागि घाइते भएका थिए।
त्यसपछि उनलाई उपचारका लागि यूक्रेनको अतिक्रमण गरेको क्षेत्र लोहान्स अस्पतालमा लगिएको थियो। उपचारपछि उनलाई फेरि युद्धमा लैजाने तयारी गरिएपनि उनी अस्पतालबाटै भागेर दूतावास पुगेका थिए।
२०८० मंसिर १४ गते नेपाल फर्किन दूतावासले अनुमति दियो। घरबाट ९० हजार रुपैयाँ मगाएर ती जवान फर्किएसँगै यो गिरोहविरुद्ध उजुरी परेको थियो।