सुन तस्करीमा भरियाको वयानः एक पटक ल्याएको ज्याला ७० हजार
काठमाडौं– १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका गोरखाका चन्द्र घलेले मुख खोलेका छन्। उनले हालसम्म तीन पटक गरी २६ किलो सुन तस्करी गरेको र हरेक पटक सुन ल्याईदिए बापत ७० हजार रुपैयाँ पाउने गरेको वयान दिएका छन्।
काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएका घलेले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसन्धान अधिकृत मनिराम पौडेलसमक्ष बयान दिएका हुन। उनले तस्करीमा गोरखाकै मीनबहादुर घलेको संलग्नता रहेको बयान दिएका छन्।
चन्द्रले आफ्नो बयानका क्रममा दुबईमा मीनबहादुर घलेले भनेको व्यक्तिले सुन दिने गरेको र त्यसका लागि ५ दिरामको नोट र कोड नम्बर रहने गरेको पनि बताए। सुन दिने व्यक्ति को हुन् भन्ने आफुलाई थाहा नहुने र नेपालबाटै मीनबहादुर घलेले दिएको नोट र कोड नम्बरका आधारमा गिरोहले सुन रहेको ज्याकेट दिने गरेको बयान उनले दिएका छन्।
दुबईबाट सुन ल्याएर त्रिभुवन विमानस्थलको आगमन कक्षको शौचालयमा रहेको डस्टबिनमा राखिदिने गरेको पनि चन्द्रले बताएका छन्। त्यहाँबाट सफाई कर्मचारी, एसी मेण्टिनेन्सका कर्मचारी, प्लम्बर आदिले सुन ल्याएर तस्कर समूहका सदस्यलाई दिने गरेको उनले भनाई छ।
दुबईमा भने सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी भन्सार तिरेरै सुन ल्याउने गरेकोसमेत घलेले बयानमा उल्लेख गरेका छन्। दुबईमा अंकित अग्रवाल र गुरु नाम गरेका व्यक्तिले सुन दिने गरेको घलेको बयानमा उल्लेख छ।