सर्लाहीमा गोली लागेर मृत्यु भएका ब्यक्तिको पहिचान खुल्यो, प्रहरीले पुष्टि गरेन

जनकपुर– सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका प्रदर्शनकारीको पहिचान खुलेको छ। गोली लागि बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको प्रदर्शनकारीले वताएका छन्।

प्रहरीले गोली चलाउँदा साह गम्भीर घाइते भएका थिए। उनको टाउकोमा गोली लागेको थियो तर प्रहरीले भने यसको पुष्टि गरिसकेको छैन। शव आन्दोलनकारीकै नियन्त्रणमा रहेकाले के कारणले मृत्यु भएको हो बुझ्न नसकिएको सर्लाही प्रहरीले जनाएको छ।

बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको थियो।

आन्दोलनकारीले नगरपालिका कार्यालय तथा मेयर कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले आक्रामक आन्दोलनकारीको भीड नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो।

सर्लाहीका सीडीओ कोमलप्रसाद धमलाका अनुसार झडपको क्रममा ६ जना प्रहरी र दुईजना स्थानीय घाइते भएका छन्।

बरहथवामा कर्फ्यू
आन्दोलनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले बरहथवामा कर्फ्यू आदेश जारी गरेको छ। सीडीओ कोमल प्रसाद धमलाले एक सूचना जारी गर्दै कर्फ्यू लगाएको जनाएका छन्।

कर्फ्यू लागेसँगै बरहथवा नगरक्षेत्र (उत्तर सोतीरचोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सिमा क्षेत्र भित्र कसैले आजवतजावत गर्न, भेला हुन र बाहिर हिलडुल गर्न पाउने छैनन्।

यो आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारवाही समेत गर्न सक्ने प्रशासनले जनाएको छ।

र, यो पनि

सर्लाहीमा प्रहरीको गोली लागि एक जनाको मृत्यु

बरहथवाका मेयरको गाडीमा आगजनी, प्रहरीले गोली चलाउँदा एक जना घाईते


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट