लेखापढी व्यवसायीले मालपोतका कर्मचारी कुटे, उजुरी दिने तयारी

काठमाडौं– देशभरीका भूमि सुधार तथा मालपोत कार्यालयमा लेखापढी व्यवसायीको दादागिरी नौलो होईन। कार्यालयका उच्च तहका कर्मचारीहरुकै संरक्षणमा उनीहरुले सेवाग्राही र तल्लो तहका कर्मचारीमाथि हुकुमत चलाउँदै आएका छन्।
हुँदाहुँदा कपिलवस्तुका कार्यालयमा ब्यवसायीले कर्मचारीलाई कुटपिट गरेका छन्। बुद्धभुमि नगरपालिका–६ महुवा घर भएका व्यवसायी सर्वजित मिश्राले कार्यालय सहयोगी निरज कडेललाई कुटेका हुन।
कुटपिट गर्ने मिश्रा लेखापढी व्यवसायी दुर्गा पाण्डेयका सहयोगी कर्मचारीको हुन्। फाइल अघि बढाउन ढिलासुस्ती गरेको भन्दै मिश्राले कडेलाई कुटेको लेखापढी व्यवसायी बताउँछन्। कुटपिटबाट कँडेलको निधारको देब्रे भागमा चोट पटक लागेको छ भने मिश्रा मोबाइल स्विच अफ गरी फरार भएका छन्।
कार्यालयले मिश्रा विरुद्ध प्रशासनमा उजुरी दिने तयारी गरेको छ। कुटपिट भएका कर्मचारी कँडेलको कार्यशैली प्रति अधिकांश लेखापढी व्यवसायी असन्तुष्ट रहेको दाबी छ। कुनै फाँटबाट अर्को फाँटमा फाइल पु¥याउँदा कँडेलले घुस माग्ने गरेको लेखापढी व्यवसायी बताउँछन्। कुनै कुरा चित्त नबुझे उजुरी दिन र आफूहरूलाई जानकारी गराउन सक्ने भए पनि कुटपिट गर्नु निन्दनीय कुरा भएको मालपोत अधिकृत टीका पौडेलले बताए।
कार्यालयका कर्मचारी माथि साङ्घातिक आक्रमण गर्ने व्यक्ति उपर कडा कारबाही भन्दा कडा कारबाहीको माग अगाडि बढाइने कार्यालयका प्रमुख मालपोत प्रमुख देवी बहादुर भण्डारीले बताए। मालपोतमा कर्मचारीहरुलाई अतिरिक्त पैसा नदिए फाइल अघि बढाउनै मुस्किल हुने गरेको सेवाग्राहीको गुनासो छ। मालमा लेखापढी र सेवाग्राहीले अतिरिक्त शुल्क दिने प्रथा अझै नहटेको सेवाग्राही बताउँछन्।