बालेन्द्रले खोसे प्रमुख प्रशासकीय अधिकृतको सरकारी गाडी

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको छ।

कार्यपालिकाको निर्णय किर्ते प्रकरणमा मुछिएका अधिकारीले गाडी मगाउँदा नपठाइएको जनाईएको छ। त्यसअघि नै उनको सवारी खोस्ने निर्णय भएको महानगर स्रोतले जनाएको छ।

प्रशासकीय अधिकृत अधिकारीले चालकलाई गाडी लिएर आउ भनेपछि चालकले महानगरमा सोधेका थिए। महानगरले नजानोस् भन्दै जवाफ दिएको जनाईएको छ। कार्यपालिका बस्नु अघि नै अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउनेदेखि सवारी खोस्ने निर्णय भएको भए पनि मगाएपछि मात्रै खुलासा भएको स्रोतको भनाई छ।

महानगरपालिकाको कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै मेयर बालेन साहले अधिकारीलाई १६ पुसमा बिदामा बस्न निर्देशन दिएका थिए। सोही प्रकरणमा मुछिएका ३ कर्मचारीलाई निलम्बनमा छन्।

कार्यपालिकाकै निर्णयमा कैफियत भेटिएपछि क्रुद्ध बनेका मेयर बालेनले उनलाई थुन्नसमेत भनेका थिए। गल्ती स्विकार्दै अधिकारीले कार्यपालिकाको निर्णय प्रमाणीकरण गर्दा आफूलाई झुक्काएर हस्ताक्षर गराइएको प्रशासनसँग बताएका थिए।

मेयर बालेन्द्र साहको सचिवालयले ल्याएको निर्णय प्रमाणीकरण गर्ने क्रममा दुई वटा पानामा फरक–फरक तथ्याङ्क राखेर आफूलाई झुक्काएको उनको भनाई थियो। समितिले छानबिन गरिरहँदा महानगर फर्किन खोजेपछि अधिकारीको कार्यकक्षमा ताला लगाइएको छ।

कार्यपालिकाको निर्णय प्रमाणीकरणको घटना बाहिरिएसँगै प्रमुख प्रशासकीय अधिकृत अधिकारीको चौतर्फी आलोचना शुरु भएको छ। छानबिन नसकिउन्जेल कार्यालय फर्किन खोज्नुलाई थप चलखेल गर्ने नियत देखिएको भन्दै महानगरकै कर्मचारीहरूले कुरा काट्न थालेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट