भिजिट भिसामा मानव तस्करीको भण्डाफोर गर्दा आईजीपीको असहयोगले डीआईजीको राजिनामा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख डिआइजी अर्जुन चन्दको राजिनामाले अहिले सर्वत्र कौतुलहता वढाएको छ। कार्यकाल झन्डै १४ महिना मात्रै बाँकी रहेका चन्दको राजिनामालाई सामान्य रुपमा लिईएको छैन।

राजिनामा दिदा उनले पनि स्पष्ट कुरा खुलाएका छैनन्। ‘तत्काल भनिहाल्नुपर्ने अर्को कुनै कारण छैन। उसै पनि सेवाकाल धेरै लामो समय बाँकी छैन। व्यक्तिगत कारणले राजीनामा दिएको हुँ।’– उनले भनेका छन्।

विमानस्थलका प्रहरी र अध्यागमनका कर्मचारीबीचको कुटाकुट प्रकरणमा गठित छानविन समितिको प्रतिवेदनमा उनले असन्तुष्टि जनाएका थिए। खासमा यही विवाद र भिजिट भिसामा मानव तस्करी प्रकरणसँग जोडेर उनको राजिनमालाई हेरिएको छ।

उनकै अग्रसरतामा भिजिट भिसामा भइरहेको मानव तस्करीको खुलासा भएको थियो। यो प्रकरणपछि अध्यागमनका कर्मचारी र प्रहरीको दुरी वढेको थियो। पछिल्लो प्रकरणमा पनि अध्यागमन कर्मचारीले पहिले हात छाडेको देख्दादेख्दै आफूमातहतका कर्मचारीलाई गरिएको निलम्बनप्रति उनको असहमति जनाएका थिए।

भिजिट भिसामा ठुलो संख्यामा मानव तस्करी भइरहेको घटना बाहिर ल्याउन भूमिका खेलेको प्रहरीलाई हतोत्साहित बनाउने उदेश्यले नियोजित रुपमा अध्यागमनका कर्मचारीले प्रहरीसँग विवाद सृजना गरेको र प्रहरीको नेतृत्वले त्यसलाई नवुझेको उनी निकट श्रोत बताउँछ। राम्रो काम गर्दागर्दै मूल्यांकन भएन भन्ने उनको मुख्य चित्त दुखाई रहेको स्रोतको भनाई छ।

डिआइजी चन्दले गत वैशाखमा विमानस्थल सुरक्षा कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका थिए। जिम्मेवारी सम्हालेलगत्तै उनी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबीच मतभेद सुरु भएको देखिन्छ।

प्रहरीले अन्तर्राष्ट्रिय यात्रुमाथि जाँचमा कडाइ गर्न थाल्दा अध्यागमन अधिकारीहरूले विवाद झिक्न थालेका थिए। ‘एकजना उपसचिवले त मासिक डेढ करोड मिलाउँछौं, कडाइ नगर्नुस् भन्नेसम्मको अफर गरे।’– उनले भनेका थिए।

गत असोजमा विमानस्थल सुरक्षा कार्यालयले भिजिट भिसामा विदेश यात्रामा रहेका १५ सयभन्दा बढी व्यक्तिका शंकास्पद कागजात लिएर अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मा लगाएको थियो। ती कागजातको अनुसन्धान गर्दा नक्कली कागजात बनाएर भिजिट भिसा तयार गर्दै मानव तस्करी भइरहेको खुलासा भएको थियो।

अनुसन्धान अघि बढ्दै जाँदा अध्यागमन अधिकृत नरवीर खड्कासम्म पुगेको थियो। खड्कालाई नियन्त्रणमा लिएर थालेको प्रहरी अनुसन्धानमा हालसम्म ९ जना अध्यागमन अधिकृत तानिएका छन्। जसमा खड्कासहित ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागोको संलग्नता देखिएको छ। उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भइसकेको छ।

उता पक्राउ परेका अध्यागमन अधिकृत खड्काले अध्यागमन कार्यालयमा घुस खान र बाँडफाँट गर्न ‘सहजीकरण समिति’ नै रहेको बयान दिएका छन्। नेपाल वायुसेवा निगमका कर्मचारी, विभिन्न कन्सल्टेन्सी, ट्राभल एजेन्सीलगायतको मिलेमतोमा भिजिट भिसामा मानव तस्करी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

यही घटना बाहिर ल्याउन डिआइजी चन्दले भूमिका खेलेको भन्दै अध्यागमन कार्यालय उनीविरुद्ध लागेको प्रहरी अधिकारीहरूको दाबी छ। नेतृत्वले सहयोग र समर्थन गर्नुको सट्टा उल्टै दबाब दिन थालेपछि उनले राजिनामा दिएको आँकल गरिएको छ। डिआइजी चन्द आइजिपी बसन्त कुँवरकै ब्याचमेट प्रहरी अधिकृत हुन्।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट