सुरुवातमै दबाबमा परेको नेदरल्यान्ड्सविरुद्ध नेपालको ९ विकेटको जीत

काठमाडौँ — विश्वकप लिग–२ क्रिकेटको शनिबार सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको छ। नेपालले नेदरल्यान्ड्सले दिएको १ सय ३८ रनको लक्ष्य १५.२ ओभरमै पुरा गर्दै विजय हात पारेको हो।

कुशल भुर्तेलले आक्रामक इनिङ्स खेल्दै ११ बलमा २ चौका र ३ छक्का प्रहार गरी २८ रन बनाएका थिए। त्यसपछि आसिफ शेख र अनिल साहले ठूलो शटहरू खेलेपछि नेपालले १० ओभरमा १ सय रन जोडेर उत्कृष्ट सुरुवात गरेको थियो।

आसिफ र अनिलले दोस्रो विकेटमा १ सय ५ रनको साझेदारी गरे। अनिलले आर्यन दत्तको बलमा छक्का प्रहार गर्दै २९ बलमै आफ्नो अर्धशतक पूरा गरे। पछिल्ला चार खेलमा उनले तेस्रो पटक ५० रनमाथिको स्कोर बनाएका हुन्।

अनिल ५७ र आसिफ ५४ रन बनाई क्रिजमा रहे। अनिलले कुल ३६ बल खेली ६ चौका र ४ छक्का तथा आसिफले ४५ बल खेली ८ चौका र १ छक्का प्रहार गरे। नेपालको आक्रामक ब्याटिङपछि नेदरल्यान्ड्सका अफ स्पिनर दत्तले ३ ओभरमा ४४ रन खर्चन पुगेका थिए।

यसअघि नेपाल नेदरल्यान्ड्स ३९ ओभरमा १ सय ३७ रन बनाई अलआउट भएको थियो। कुशलले भुर्तेलले सानदार बलिङ गर्दै नेदरल्यान्ड्सलाई सानो स्कोरमा रोक्न भूमिका खेले। त्रिवि क्रिकेट मैदानमा नेपाल पहिलो ओभरबाटै खेलमा हाबी भएको थियो।

सोमपाल कामीले पहिलो ओभरमै डेब्यु गरिरहेका माइकल लेभिटलाई थर्डमा देव खनालबाट क्याच गराई नेपाललाई सानदार सुरुवात दिलाएका थिए। एक छक्का प्रहार गरेका म्याक्स ओ डड १० रन बनाई रन आउट भए। साइब्रान्ड इन्जेलब्रेट र बास डी लेडले तेस्रो विकेटमा ३८ रनको साझेदारी गरे।

ललित राजवंशीले इन्जेलब्रेटलाई २३ रनमा आउट गरी उनीहरुको साझेदारी तोडे। उनले ५३ बल खेल्दै ३ चौका प्रहार गरे। लेडले ४४ बल खेली ३ चौका र १ छक्का प्रहार गर्दै २७ रन बनाए। उनलाई ललितले उत्कृष्ट बलमा बोल्ड गरेका थिए। नोह क्रोस १२ रन बनाई रनआउट भए। कुशल मल्लले आफ्नै बलिङमा फ्लो थ्रोमा नियन्त्रण गर्न खोजेको बल स्टम्पमा लागेपछि क्रोस आउट भएका थिए।

कुशल भुर्तेलले आफ्नो पहिलो ओभरमै वेस्ली वारेसीलाई शून्यमा आउट गरी नेपालको दबदबालाई कायम राखे। कप्तान रोहित पौडेलले सरिज अहमदलाई १ रनमा बोल्ड गरी खेलमा नेपालको दबदबा कायम राखे । भुर्तेलले आर्यन दत्तलाई १० रनमा आउट गरे। उनले अर्को महत्वपूर्ण विकेट लिनेक्रममा कप्तान स्कट इडवार्डसलाई एलबीडब्लू आउट गरे। इडवार्डसले ४९ बल खेली १ चौका प्रहार गरी ३३ रन बनाए।

भिभिएन किङमालाई २ रनमा आउट गरी उनले चौथो विकेट लिए। आफ्नो ५० औं एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका भुर्तेलले ७ ओभरमा २० रनमात्र खर्चेका थिए। ललितले २ विकेट लिनेक्रममा १० ओभरमा ३२ रन खर्चे।

नेपाल बिहीबार नामिबियाविरुद्ध पहिलो खेलमा ४ विकेटले पराजित भएको थियो। नामिबियाले टस जितेपछि ब्याटिङका लागि आएको नेपाल १ सय ३२ रनमा अलआउट भएको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट