मलामी बोकेको बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु
बैतडी– बैतडीको डिलाशैनी गाउँपालिका–१ घारडामा विहिबार मलामी बोकेको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सुपप्र ०१००१ च ३१४६ नम्बरको मलामी बोकेको जिप दुर्घटना भएको हो।
दुर्घटनामा डिलाशैनी गाउँपालिका–१ धावलाका ५० वर्षीय गोपाल बोहराको मृत्यु भएको छ। सडकमा एक्कासी पल्टिएको जिपमा च्याएर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका इन्स्पेक्टर नन्दराज जोशीले वताए।
घाटबाट चालकसहित १३ जना मलामी बोकेर गाउँ फर्किरहेको जिप दुर्घटनामा परेको थियो। दुर्घटनामा ५ जना घाइते भएका छन्। प्रहरीका अनुसार घाइते हुनेमा रतन धामी, मन्धिर धामी, अमर धामी, लोकेन्द्र धामी र सुरेन्द्र बोहरा छन्। रतनको कम्मरमा चोट लागेको छ भने अन्यको अवस्था सामान्य छ।
जिप चालक डिलाशैनी गाउँपालिका–६ का धनबहादुर कठायत दुर्घटनापछि फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।