छोरो भेट्न नपाएको पीरले भारती मानन्धरद्वारा विष सेवन, भेरी अस्पतालमा उपचार हुँदै
नेपालगञ्ज– गुण्डा नाइके रिगल समूहको खुँडा प्रहारबाट मारिएका बाँकेको नेपालगञ्जका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन्।
मंगलबार दिउसो १ बजेको आसपास विष सेवन गरेपछि उनलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको छ। उनको अवस्था स्थिर रहेको बाँके प्रहरीले जनाएको छ। उनले आफ्नो छोरालाई भेट्न नपाएको भन्दै विष सेवन गरेको जनाईएको छ।
उनी निकटकाहरुका अनुसार उनले छोरालाई आफैले राख्न पाउनु पर्ने चाहना गर्दै आएको भएपनि चेतनका बुबाआमाले भने नातीलाई आफैले राखेका छन्। छोरालाई दिउसो खाजा दिन उनी पढ्ने स्कुलमा गएपनि भेट्न नपाएपछि घरमा आएर उनले विष सेवन गरेको जनाईएको छ।
स्थानीय क्रिष्टल बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत आफ्नो छोरालाई भेट्न र खाजा पुर्याउन भारती दैनिकरुपमा विद्यालयमा जाने गरेकामा मंगलबार विद्यालयले उनको खाजा दिन नमिल्ने भनी फिर्ता पठाएको थियो ।
बालकको अभिभावकको नाममा हजुरबुवा र हजुरआमाको नाममात्रै रहेको भन्दै अभिभावकको नाम नरहेको अवस्थामा खाजा स्वीकार गर्न नसकिने भन्दै भारतीको खाजा फिर्ता पठाइदिएको थियो।
विद्यालयले खाजा फिर्ता पठाइदिएपछि भारतीले भावुक हुँदै सामाजिक सञ्जाल फेसबुकमा ‘छोरा मलाई माफ गरिदेउ, म थाकी सकेँ’ भनी स्टाटस लेखेकी थिइन्। स्टाटस देखेपछि कुनै अप्रिय घटना नहोस् भनी उनका दाइ र अन्य एक महिला भारतीको डेरामा पुग्दा उनी अचेत अवस्थामा फेला परेकी थिइन्।
अचेत अवस्थामा फेला परेकी भारतीले झोलरुपमा रहेको कुनै औषधी आधी खाइसकेको तथा दैनिक खाने डिप्रेसनको औषधीको एक पत्ता सबै खाएको पाइएको थियो। औषधीको ओभरडोजले विषको रूप लिएको अस्पतालले जनाएको छ।
बाँके प्रहरीका सूचना अधिकारीले प्रहरीले दिउसो ४ बजे सूचना पाएको जनाएका छन्। राष्ट्रपतिबाट आममाफी पाएका रिगललाई लामो समय आन्दोलन गरेर पुनः जेल पठाउन सकेकी भारती पारिवारिक रुपमा समस्यामा पर्दै आएको जनाईएको छ।