पारिवारिक विखण्डनको मारमा शालिन: उनको मृत्युमा यसरी जोडियो ‘करेन्ट चाउचाउ’

काठमाडौं– चितवनको रत्ननगर नगरपालिका १० को एकता शिशु निकेतनको होस्टलभित्र १२ फागुनमा मृत अवस्थामा भेटिएकी १४ वर्षिया बालिका शालीन पोखरेलको मृत्यु प्रकरणले सिङ्गो देश जुरुक्क उठायो।

नउठाओस पनि किन? पछिल्लो समय देशमा कानुनको कार्यान्वयन भन्दा पनि ठुलावडाको आदेश चल्छ। प्रहरी प्रशासन राजनीतिप्रति नतमस्तक छ। अपराधीको हैसियत (पैसा र पावर) हेरेर अनुशन्धान अगाडि वढ्छ। कानुनका छिद्र खोतलेर अपाराधीलाई उम्काईन्छ। सकेसम्म अपराध ढाकछोप गर्ने, नसके मुद्दा कमजोर बनाउने, त्यो पनि सम्भव नभए राष्ट्रपति लगायतका गरिमामय संस्थाकै हुर्मत लिएर अपराधीलाई आममाफी दिने प्रपन्च कसैबाट लुकेको छैन।

त्यसभन्दा पनि शालीन प्रकरणमा देशनै जुरुक्क उठ्नु पर्ने कारण चाही कन्चनपुरको भीमदत्त नगरपालिका–१८ महेन्द्रनगरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण मुख्य हो। त्यसपछिका सुन प्रकरण, शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, बाँसवारी प्रकरण, सहकारी प्रकरण लगायतले नागरिकमा राज्यप्रतिको विश्वास गुमेको छ।

त्यसैले कक्षा ८ मा पढ्ने वालिकाको मृत्युमा चिन्ता हुनु स्वभाविक हो। तर, यही चीन्ताले यस्तो संवेदनशील घटनाको अनुशन्धानलाई गलत बाटोमा लाने हो की भन्ने चिन्ता पनि थपिएको छ। यो घट्नालाई अतिरंजीत गर्ने प्रयास पनि भईरहेका छन्। मृतक बालिकाका वुबा दीपेन्द्र पोखरेल नै यो घट्नामा वहकिएको देखिन्छ।

दीपेन्द्रलगायत परिवारजनले शालीनले आत्महत्या गरेको मान्न तयार नभएपछि प्रहरीलाई निकै दबाब दिएर प्रिन्सिपलसहित तीनजनाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ। दीपेन्द्र आफैंले ‘बलात्कारपछि शालीनको हत्या गरिएको’ घोषणा गर्दै मिडियामा अन्तरवार्ता समेत दिदै हिडेका छन्।

तर, हालसम्मको अनुशन्धानले शालीनको मृत्युलाई हत्या भएको भनेर पुष्टि गर्ने कडी फेला परेका छैनन्। काठमाडौंको टिचिङ अस्पतालमा भएको शवको पोस्टमार्टम रिपोर्टले पनि बलात्कार र हत्यालाई पुष्टि गरेको छैन। रिपोर्टमा झुन्डिएकै कारण मृत्यु भएको पुष्टि भएको छ। मृतकको भिसेरा (मुटु, कलेजो र फोक्सो) सहित शरीरको फरेन्सिक जाँच गरिएको छ। त्यसपछि शरीरमा कुनै चोटपटक, बलात्कार वा ज्यान मार्नेसम्मको घातक प्रयास भएको छ÷छैन पत्ता लाग्छ।

बालिकाले छोडेको सुसाईड नोटले पनि घट्नालाई आत्महत्या नै भएको संकेत गरेको छ। ‘सुसाइड नोट’मा शालीनले ‘एभ्रीबडी आइएम सरी, अहिलेसम्म मैले जति गल्ती गरेँ। मम्मीबाबालाई सम्झिएको छ भनिदिनु’ भनेर लेखेकी छन् । नोटका अक्षरहरू फरेन्सीक टेस्टका लागि पठाइएको छ, जसको रिपोर्ट आइसकेको छैन। यद्यपि, प्रहरीले शालीनको कापीका अक्षरहरूसँग दाँज्दा मिलेको पाइएको छ।

प्रहरीले विद्यालयको सीसी क्यामराको फुटेज पनि हेरिसकेको छ। सीसी क्यामराको फुटेजमा पनि उनी एक्लै छात्राबासको कोठामा छिरेको देखिएको प्रहरी अधिकृतहरुले बताएका छन्। शालीनका पिता दीपेन्द्र भने यी सवैकुरा मान्न तयार छैनन्। पोष्ट मार्टम रिपोर्टलाई पनि उनले अस्विकार गरेको स्थिती छ। उनी अपराधीलाई कारवाही गराउन जुनसुकै हदसम्म जान्छु भनिरहेका छन्। यद्यपी यो घट्ना आत्महत्या नै प्रमाणित भए यो डरलाग्दो निर्णयको निचोडमा पुग्न विद्यालय प्रशासन मात्र होइन, बाबु आमा र आफन्त पनि अनुसन्धानको दायरामा तानिन सक्छन्।

शालीन साढे तीन वर्षकै उमेरदेखि बुवा र आमाको ममताबाट वञ्चित थिइन्। १० वर्षअघि नै बुवा र आमा अलग बस्न थालेका थिए। दुई वर्षअघि उनीहरूको औपचारिक डिभोर्स भयो। डिभोर्सपछि उनीहरू आआफ्नो घरजम गरेर बसिरहेका छन्। पाकिस्तानी पुरुषसँग विवाह गरेकी सगुन हाल दुबईमा बस्छिन्। दक्षिण अफ्रिका बस्ने बाबु पनि दुई–तीन महिनाअघि मात्रै नेपाल आएका हुन्। उनी कान्छि श्रीमतीसँग काठमाडौंको बसुन्धरामा वसिरहेको खुलेको छ।

उनीहरुले शालीनलाई छात्रावासमा थन्क्याइदिएका थिए। शालीनको खर्चको जिम्मेवारी आमा सगुनले उठाएकी थिइन्। तर बेलाबेलामा दीपेन्द्रले पनि सामानहरू किनेर पठाउने र पकेट खर्चसमेत दिने गरेको बताएका छन्। उनीहरुले होस्टेलको वार्डेनमार्फत बेलाबखत छोरीसँग फोनमा कुराकानी गर्ने गरेका थिए।

तर उनीहरु अलग भएपछि दीपेन्द्रले जम्मा एक पटक शालीनसँग भेट गरेको खुलेको छ भने आमाको भेटै नभएको पाईएको छ। यसरी बुवा–आमाको सामिप्यता गुमाएका बच्चाहरू कस्तो मनोदशामा हुर्किरहेका हुन्छन् भन्ने यो घटनाबाट उजागर भएको अर्को संवेदनशील पक्ष हो।

नाबालिग छोरीको अप्रत्याशित निधनले बुवाआमालाई परेको चोट महसुस गर्न सकिन्छ। तर, बाँचुन्जेल खासै चासो नलिएका उनीहरु शालीनको मृत्यु पछि भने एकदमै आक्रामक रुपमा प्रश्तुत भईरहेको देखिन्छ।

के हो करेन्ट चाउचाउ प्रकरण ?
शालीन शनिबार बिहान करिब १० बजे मृत अवस्थामा भेटिएकी हुन्। स्काउटको डोरीले झुण्डिएको अवस्थामा उनको शव भेटिएको थियो। शालीनसँगै छात्राबासको एउटै कोठामा बस्ने तीन साथी थिए। उनीहरुले प्रहरीलाई बताए अनुसार छात्राबासको कोठा एउटै भए पनि उनीहरु तीन जनाको आआफ्नो सामान राख्ने बेग्लाबेग्लै बाकस रहेको थियो।

उनीहरु तीनै जनाले खाना खानुअघि बिहान करेन्ट चाउचाउ खाने सल्लाह गरेका थिए। जुन साथीले चाउचाउ खाउँ भनेकी थिइन्, उनको बाकसबाट चाउचाउ निकाल्न खोज्दा नभेटिएपछि खोजतलास भयो।

साथीको बाकसमा चाउचाउ नभेटिएपछि सबैको बाकस खोजी गर्दा शालिनको बाकसमा चाउचाउ भेटिएको थियो। त्यसपछि सबैको सल्लाहमा यो कुरा शिक्षकलाई पनि नभन्ने सहमति गरी तीनै जना खाना खान तेस्रो तल्लामा रहेको छात्राबासको कोठाबाट ओर्लिएका थिए।

तर, २ जना चौरतिर जाँदा शालिन खाना नखाई कोठामै फर्किइन्। अरुले खाना खाईसकेपछि पनि उनी नझरेपछि वोलाउन जाँदा त्यसपछि ढोका खुलेन। होस्टल वार्डेनलाई उनीहरुले खबर गरे। त्यसपछि ढोका फोर्दा झुण्डिएको अवस्थामा भेटिएको उनीहरुले प्रहरीलाई बताएका छन्।

चाउचाउ प्रकरणले उनको दिमागमा आत्मग्लानी भएर आत्महत्याको बाटो रोजेको त होईन ? भन्ने प्रश्न अगाडि आएको छ। सुसाईड नोटमा ‘एभ्रीबडी आइएम सरी, अहिलेसम्म मैले जति गल्ती गरेँ।’ भनेर लेख्नुले पनि शालीन मृत्यु प्रकरणमा ‘करेन्ट चाउचाउ’ जोडिएको कतिपयले आशंका गरेका छन्।

र, यो पनि


प्रतिक्रिया

One thought on “पारिवारिक विखण्डनको मारमा शालिन: उनको मृत्युमा यसरी जोडियो ‘करेन्ट चाउचाउ’

  1. बालिकाको योनि टेष्ट भयो कि भएन। यदि योनि टेष्ट गर्दा यौन कार्य भएको छ भने बलत्कारको कसुरदार किटान गरि दिएको उजुरिका आधारमा ती ब्यक्तिहरुको डि.एन.ए र बालिकाको शरिरको विभिन्न भागको डि.एन.ए. को जाँच गरियो भने तथ्यकुरा बाहिर आउन सक्छ । डाक्तरले पोष्ट्मार्टम गरेको रिपोर्टमा के लेखिएको छ । त्यो किरा बाहिर आएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट