पत्रकार महासंघ सप्तरीमा तालावन्दीः कुम्भकर्णे प्रबृति देखाएपछि बाध्य भयौं– पूर्वअध्यक्ष खड्गा
राजविराज– नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कार्यालयमा विहिबार तालावन्दी भएको छ। शाखका पूर्वअध्यक्षहरु विष्णुकुमार मण्डल र जितेन्द्र खड्गाको अगुवाईमा पत्रकारहरुले नै शाखामा तालावन्दी गरेका हुन्।
कार्यसमितिको निर्वाचन भएको तीन वर्ष वितिसक्दा एक पटक पनि सधारण सभा नगराएको, एकलौटी र मानोमानी ढंगवाट निर्णयहरु गरेको र सदस्यता शुद्धिकरणका नाममा ५० भन्दा बढी पत्रकारको सदस्यता समाप्त गर्ने प्रपञ्चमा वर्तमान कार्यसमिति लागेकाले तालावन्दी गरिएको पूर्वअध्यक्ष खड्गाले बताएका छन्।
शाखामा योगदान दिएका पत्रकारहरुकै सदस्यता खारेज गर्ने गरी कार्यसमिति अगाडि वढेको, नयाँ सदस्यताका लागि आवेदन दिएका नवोदित पत्रकारहरुको आवेदन एक वर्षदेखि थन्क्याएर राखेको तथा स्वार्थ जोडिएका कतिपय पत्रकारलाई भने भ्रष्टाचार मुद्दा दर्ता भएको एक वर्ष वितिसक्दा पनि कार्वाही नगरेको खड्गाको आरोप छ।
खड्गाले बर्तमान कार्यसमितिमाथि पूर्वसभापति तथा संस्थापक सदस्यहरुको मानमर्दन गरेको आरोप पनि लगाएको छ। यी यावत विषयमा पटक–पटक ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराउदा पनि शाखा सभापतिले वास्ता नगरेको उनले वताए। ‘सभापतिले कुम्हकर्णे प्रबृति देखाएकोले बाध्य भई हामी पीडित पत्रकारहरुको एक समुहले आज महासंघमा तालाबन्दी गरेका हौ। अझै बार्ता र संवाद मार्फत समस्याको समाधान चाहन्छौ। पहल होस।’– उनले भनेका छन्।
महासंघका अध्यक्ष श्रवणकुमार देवले भने तालाबन्दी गर्नु सही नभएको जनाएका छन्। लामो समयदेखि पत्रकारीता पेशा छोडेर अन्य पेशा व्यवसायमा गएकाहरुलाई केन्द्रले तोकेको १५ बुँदे शुद्धिकरण मापदण्ड अनुसार सदस्यताबाट हटाईएको र पत्रकार महासंघलाई विशुद्ध पत्रकारहरुको संस्था बनाउने प्रयास गरिएको उनको दावी छ।