आफै पक्राउ पर्न लागेका प्रसाईले जीबी राईलाई पक्राउ गर्न गृहमन्त्रीसँग मागे ७ दिनको अनुमती

राजविराज– नवनियुक्त अर्थमन्त्री वर्षमान पुनको अभिब्यक्तिले आत्तिएका विवादित मेडिकल ब्यवसायी दुर्गा प्रसाई हतार–हतार काठमाडौं पसेका छन्। अर्थमन्त्री पुनले नेपाल बैंकर्स संघ र नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग कुरा गर्दै बैंक तथा वित्तीय संस्थाविरुद्ध जथाभावी अभिव्यक्ति दिने व्यक्तिलाई पक्राउको संकेत गरेपछि प्रसाई आत्तिएका छन्।
आइतबार झापाबाट काठमाडौँ पुगेका प्रसाईंले त्रिवि विमानस्थलमा आफू केही दिनपछि मात्र काठमाडौँ आउने तयारी भए पनि नयाँ गठबन्धनमार्फत नयाँ मन्त्रिमण्डल विस्तार भएसँगै आफूलाई पक्राउ गर्ने हल्ला चलाएकाले काठमाडौँ आएको बताए।
‘जतिखेर पनि पक्राउ दिन दुर्गा प्रसाईं तयार छ। दुर्गा प्रसाईं टाइगर हो टाइगर जिउँदै छ। रविजीलाई म के भन्छु भने मलाई समय दिनुस् म फाइल बुझाउँछु। तर फाइल खोल्ने आँट गर्नुस।’ प्रसाईंले भने। उनले आफु गिरफ्तारी दिन भन्दै काठमाडौं आएको दाबी गरे। ‘दुईदिनपछि काठमाडौं आउन लागेको थिए। नयाँ गठबन्धन बनेपछि केही तस्करहरुले अर्थमन्त्रीलाई भेटेर दुर्गा प्रसाईंलाई पक्रिनु प¥यो भनेपछि म किन भाग्नु त भनेर आएको हो’ उनले भनेका छन्–‘त्यसैले गिरफ्तारी दिन आएको हो।’
प्रसाईंले विगत लामो समयदेखि बैंक तथा वित्तीय संस्थाविरुद्ध अर्नगल अभिब्यक्ति दिदै आएका छन्। सुरुमा निश्चित समुदायका उद्योगीव्यवसायी विरुद्ध लागेका प्रसाईंले पछिल्लो समयमा वित्तीय संस्थालाई निशाना बनाउन थालेका थिए।
उनले वैंकका कर्मचारीहरुलाई कालोमोसो दल्न भन्दै केही समयअघि एउटा दस्ता पनि तयार गरेका थिए। उनका यी गतिविधिका कारण बैंक वित्तीय संस्थाको ऋण असुली समेत प्रभावित हुन थालेको थियो।
ऋण असुली समेत प्रभावित भएपछि बैंकर्सले नवनियुक्त अर्थमन्त्री पुनलाई भेटेर गुनासो गरेका थिए। अर्थमन्त्री पुनले प्रसाईं पक्राउ गर्ने संकेत गरेका थिए। ‘गल्ती गर्नेले सजाय पाउँछ। तर कोही व्यक्तिले गल्ती गर्दैमा पूरै समुदायलाई नराम्रो भन्न हुँदैन। राज्य भनेको नागरिकको सुरक्षा र सेवा दिने निकाय हो।’ मन्त्री पुनले भनेका थिए–‘उद्यमी व्यवसायीलाई निरुत्साहित हुन दिंदैनौं। यो मेरो जिम्मेवारी हो। म यहाँहरुलाई हतोत्साही हुन दिन्न। कुनै पनि समुदाय प्रति अपराधीजस्तो व्यवहार गर्न दिइने छैन।’
जीबी राईलाई ७ दिनमा पक्राउ गर्ने दावी
सहकारी ठगी प्रकरणमा मुछिएका जीवी राईलाई पक्राउ गर्न अनुमति दिए आफूले सात दिनमा पक्राउ गरेर ल्याइदिने दावी समेत उनले गरे। प्रसाईले थपे–‘जीवी राई सन्तोष कार्कीकोमा बसेका छन्। मलाई गृहमन्त्रीले अनुमति दिए म सात दिनमा पक्राउ गरेर ल्याइदिन्छु।’
उनले सर्वहारा वर्ग र भुइमान्छेमाथि सरकार खनिएको भन्दै २०३० सम्म यो देश माफियाले लिइसक्ने घोषणा गरे।