पतिलाई सल्टाउन प्रेमीलाई सुपारीः ९० हजार लिएर सहकर्मीले गरे रामबहादुरको हत्या

पोखरा– कास्कीको मादी गाउँपालिका–१ तउरेतीको जंगलमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ गुम्बा बोल्देका ३६ वर्षीय रामबहादुर तामाङको हत्या गरेको आरोपमा प्रहरीले मृतककी कान्छी पत्निसहित ४ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ।

प्रहरीले मृतककी पत्नि सिन्धुपाल्चोकको साँगाचोकगडी नगरपालिका–३ डेरा गरी बस्ने कान्छी भनिने च्याङमा लामा तामाङ, सिन्धुपाल्चोकको साँगाचोकगडी नगरपालिका–१ का धन लामा, बलेफी गाउँपालिका ६ का नविन तामाङ भन्ने फुर्वा लामा र अजित तामाङ भन्ने छे दोर्जे लामालाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार कान्छि योजनाकार र अन्य तीन जना हत्यामा संलग्न ब्यक्ति हुन। कान्छिलाई सिन्धुपाल्चोक र अन्य तीन जनालाई काठमाडौंबाट पक्राउ गरिएको हो। प्रहरीको अनुशन्धान अनुसार रामबहादुर ३० फागुनमा सिन्धुपाल्चोकको मेलम्ची हाइड्रोपावरमा काम गर्न जान्छु भनेर घरबाट हिँडेका थिए।

तर, उनी पहिला बुबाआमालाई भेट्न काठमाडौं गए। काठमाण्डौबाट साथीहरूसँगै कास्कीको सिक्लेसस्थित हाइड्रोपावर कम्पनीमा काम गर्न हिडेका उनी ३ चैतमा सिक्लेस जंगलमा मृत फेला परे। उनको टाउकोमा गम्भीर चोट देखिएको थियो।

स्थानीयले अपरिचित ब्यक्तिको शव देखेपछि प्रहरीलाई खबर गरे। जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय रामबजार र प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको टोलीले अनुशन्धान सुरु गर्यो। अनुशन्धानकै क्रममा रामबहादुरको पहिचान खुल्यो तर, हत्यारा पत्ता लागेन।

अनुशन्धान गर्दै जाँदा कास्कीकै चिप्लीमा रहेको ‘लाइक ट्राउट फार्म एण्ड रेस्टुरेन्ट’को सीसीटीभी फुटेजमा रामबहादुरसहित ४ जना पुरुषहरू जाँदै गरेको देखियो। रामवहादुरको शव भेटिएपनि अन्य तीन जनाको कतै पत्ता लागेन। खोजी गरिरहेकै वेला काठमाडौंमा फेला परेका उनीहरुलाई त्यही पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कास्कीका एसपी मोहन थापाका अनुसार रामबहादुरका दुईटी पत्नि हुन। जेठी पत्निलाई जानकारी नदिई दोस्रो विवाह गरेका उनको ५÷६ वर्षअघि कान्छिसँग सम्वन्ध विग्रियो। त्यसपछि उनीहरु छुट्टाछुट्टै भए। दोस्रो विवाहका बारेमा जेठी पत्निले दुई वर्षअघि मात्रै थाहा पाईन। त्यसपछि बहुविवाहको मुद्दामा जेठीले उनलाई जेल पुर्याईन। उनी ६ महिनाअघि मात्रै रिहा भएको पाईएको छ।

दुवै श्रीमतीसँगको सम्वन्ध विग्रिएका उनको जेलबाट छुटेपछि पनि कान्छिसँग भने पटक–पटक झगडा परेको प्रहरीले पत्ता लगाएको छ। त्यही रिसमा कान्छिले रावहादुरको हत्या गर्ने योजना बनाएको र त्यसका लागि प्रेमी धन लामालाई प्रयोग गरेको अनुशन्धानमा खुलेको छ। ५ वर्षअघि धन र रामवहादुर सिन्धुपाल्चोकको हाइड्रोपावरमा सँगै काम गरेका थिए। रामबहादुर एक्स्काभेटरको चालक र धन सहचालक।

रामबहादुरले त्यतिवेला आफुलाई ढुङ्गाले टाउकोमा हिर्काएको सम्झेर धनले कान्छिको कुरामा सहमति जनाए। ‘लागेको खर्च म ब्यहोर्छु’ भन्दै ढाडर दिएर कान्छिले धनलाई हत्याको योजनासहित विदा गरिन। योजना अनुसार चारै जना हिडे। १ चैतमा बाटोमा बसेर सवैले रक्सी खाए।

सिक्लेसमा पुगेपछि धनले रामवहादुरलाई मुक्का हानेर ढलाए। चटपटाउन छाडेपछि घिसार्दै बाटोभन्दा तल लगेर खोल्सामा फालेको र उनको साथमा रहेको २ नगद पनि लिएर हिडेको उनले प्रहरी समक्ष बताएका छन्।

त्यसपछि धनले ‘काम भयो’ भन्दै कान्छिलाई फोन गरे। त्यसैबेला उनले घटनामा अन्य दुई जना पनि रहेको र खर्च लाग्ने वताए। कान्छिले इसेवाबाट उनलाई ९० हजार पठाईन। त्यो पैसा धनले काठमाडौं पुगेर झिकेको प्रहरीले जनाएको छ। त्यसमध्ये दोर्जे र फुर्वालाई २०÷२० हजार दिएर बाँकी ५० हजार उनी आफैले राखेको एसपी थापाले बताएका छन्।

पक्राउ परेका चारै जनालाई कर्तव्य ज्यानसम्बन्धिी कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद लिई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट