२५ हजार नदिएको रिसमा कर्मचारीमाथि बलात्कारको आरोप लगाउने महिला जेल चलान
दाङ– २५ हजार माग्दा नदिएको रिसमा सरकारी कर्मचारीमाथि बलात्कारको आरोप लगाउने दाङको घोराही उपमहानगरपालिका– १७ की २८ वर्षीया महिला कारागार चलान भएकी छिन्।
दाङ जिल्ला अदालतका न्यायाधीश लोकबहादुर हमालको इजलासले उनलाई ७ चैतमा डेढ लाख धरौटीमा छोड्न आदेश दिएको थियो। तर, धरौटी बुझाउन नसकेपछि उनी कारागार चलान भएकी हुन्।
ती महिलाले दाङ जिल्ला अदालतका तहसिलदारविरुद्ध बलात्कारको आरोप लगाएकी थिईन। त्यसपछि तहसिलदारले आफै जिल्ला प्रहरी कार्यालय दाङमा महिलाविरुद्ध उजुरी दिएका थिए। ती महिलाले आफुलाई हनी ट्रयापमा पारेर अनुचित लाभ लिन खोजेको कुरा तहसिलदारले उजुरीमा उल्लेख गरेका थिए।
सम्बन्धबिच्छेद पछि अंशमुद्दाका लागि पुगेकी ती महिलाले २५ हजार रूपैयाँ माग गर्दै नदिए बलात्कार मुद्दा हाल्ने धम्की दिएकी थिइन्। त्यसपछि आफू बाध्य भएर प्रहरीमा जानु परेको तहसीलदारले बताए।
उनको उजुरीका आधारमा प्रहरीले गरेको अनुशन्धानले पनि महिलाले ती कर्मचारीलाई हनी ट्रयापमा पारी अनुचित लाभ लिन खोजेको देखिएको थियो। दाङ प्रहरीका डीएसपी जनकबहादुर मल्लका अनुसार प्रहरीको सोही प्रतिवेदनका आधारमासरकारी वकिल कार्यालयले महिलाविरूद्ध मुद्दा चलाएको थियो।