सप्तकोशी नपामा नागरिकलाई सिटामोल छैन, जनप्रतिनिधि र कर्मचारीलाई रक्सी र मासु

राजविराज– सप्तरीको सप्तकोसी नगरपालिकाका जनप्रतिनिधिहरु दायित्वबाट च्युत हुन थालेका छन्। स्वास्थ्य संस्था औषधी विहिन भएर नागरिकले सिटामोलसमेत नपाईरहेका वेला जनप्रतिनिधि र कर्मचारी भने तिनै नागरिकको पैसा रक्सी र मासुमा उडाउन थालेका छन्।

सरकारले ९८ प्रकारका औषधी निशुल्क दिने ब्यवस्था गरेपनि सप्तकोशी नगरपालिकामा सर्वसाधारणले विगत ९ महिनादेखि औषधी पाउन सकेका छैनन्। औषधी खरिदका लागि वजेट छुट्याईए पनि आर्थिक वर्ष सकिन ३ महिना बाँकी हुदासमेत कमिसनको चक्करमा औषधी खरिद भएको छैन।

जसका कारण ९८ प्रकारका औषधीको कुरै छोडौं नागरिकले सिटामोलसमेत पाएका छैनन्। नगरपालिकाका ११ वटै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले कसैलाई ‘वाहिरै किन्नु पर्छ’ भनेर पठाईउँछन भने कसैलाई ‘नगरपालिकाबाट ल्याउन पाएको छैन, आएपछि लिन आउनु’ भनेर फिर्ता पठाउँछन्। कतिपयलाई अनुहार हेरेर ४/५ वटा सिटामोल दिन्छन्। त्यो भन्दा वढि माग्ने नागरिकले सिटामोलको सट्टा कर्मचारीको गाली खाएर फर्किनुुपर्छ।

जहाँका स्वास्थ्य संस्थामा सिटामोलको यस्तो भयावह अवस्था छ, त्यहाँ अन्य ९७ प्रकारका औषधीको उपलब्धता सहजै अनुमान लगाउन सकिन्छ। तर, पैसा नभएर औषधी नपाएको भने होईन। औषधीका लागि मात्रै २० लाख रुपैयाँ छुट्याईएको छ। यस वाहेक सर्जिकल सामान किन्न ४ लाख र आपत्तकालिन कोष भनेर औषधीजन्य सामाग्री खरिदकै लागि १५ लाख रुपैयाँ नगरको खातामा जम्मा छ। तर, अहिलेसम्म औषधी खरिद किन गरिएन ? भन्ने प्रश्नको चित्त वुझ्दो जवाफ कसैसँग छैन।

कतिपय जनप्रतिनिधि स्वास्थ्य संस्थामा औषधीको हाहाकार वनाएर हतार–हतारमा खरिद गरिएको देखाउने, अनि म्याद सकिन लागेका औषधी ल्याएर बाँड्ने योजना बनिरहेको बताउँछन्। उनीहरुका अनुसार अघिल्लो आर्थिक वर्षमा पनि कम्पनीहरुसँग मिलेमतो गरी म्याद सकिन लागेको औषधी खरिद गरेर लाखौं रुपैयाँको औषधी खाल्डो खनेर गाडिएको थियो।

यसरी नागरिकले हैरानी खेपी रहेका बेला जनप्रतिनिधि र कर्मचारी भने तिनै नागरिकले तिरेको तिरोबाट मोजमस्ती गरिरहेका छन्। मेयर कृष्णप्रसाद ढकाल र प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरीकै योजनामा शनिवार जनप्रतिनिधि र कर्मचारीहरु सुनसरीको चतरास्थित कोशी किनारमा पिकनिक खान गए। जहाँ मासु र सक्सी खाएर कतिपय कर्मचारी थेगिनै नसक्ने अवस्थामा पुगेको स्रोतको दावी छ। एक जना इन्जिनिर त थेगिन नसकेर लड्दै गरेको भिडियो नै समाजिक सञ्जालमा अपलोड भएको थियो। तर आलोचना हुन थालेपछि जनप्रतिनिधिले नै हालेको उक्त विवादित भिडिओ हटाईएको छ। नगरपालिकाले उक्त पिकनिकलाई ‘क्षमता अभिवृद्धि तालिम’ को नाम दिएको छ।

प्रमुख प्रशासकीय अधिकृत चौधरीले नगरपालिकाबाट डेढ लाख रुपैयाँ खर्च गरेर ‘जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि र रिफ्रेसमेन्ट कार्यक्रम’ गरेको बताए। कार्यालयमा कार्यक्रम आयोजना गर्दा जनप्रतिनिधि र कर्मचारी भेला नहुने भएकाले कोशी किनारमा खानपिन र रमाईलो सहितको कार्यक्रम गरिएको उनको भनाई छ। उनले डेढ लाख रुपैयाँ भनेपनि पिकनिकमा ३ लाख रुपैयाँ खर्च भएको स्रोतको दावी छ।

यता, मेयर ढकालले भने पिकनिक गएको स्विकार्दै त्यसमा नगरको पैसा खर्च नभएको वताए। ‘खर्च कहाँबाट भएको हो भन्ने आफुलाई एकिन नभएपनि कर्मचारीहरुले उठाएका होलान’ भन्दै उनले क्षमता अभिवृद्धि कार्यक्रमको विषय अस्विकार गरे। नागरिकले औषधी नपाएको विषयमा भने उनले अभाव भएको २/३ महिना मात्रै भएको र खरिदका लागि सम्झौता भईसकेको तथा औषधी आउन मात्र वाँकी रहेको वताए। ढकालका अनुसार १३ लाख रुपैयाँको औषधी खरिदका लागि सम्झौता भएको छ।

र, यो पनि

डेढ लाखको ‘क्षमता अभिवृद्धि पिकनिक’ मा मेयर र प्रशासकीय अधिकृतको कुरा वाझियो

नगरको पैसामा जनप्रतिनिधि–कर्मचारीको मोज, क्षमता विकासका नाममा कोशी किनारमा वनभोज

औषधीमा कमिशनको चलखेलः जनप्रतिनिधिको गम्भिर खेलाँची, नागरिकको स्वास्थ्यमा झेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट