एक जनालाई लागेको क्यान्सरले ६ जनाको ज्यान गयो, पौवाखेत शोकमा

काठमाडौं– शनिवार विहान काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना–५ नाग्दी खोला पुल नजिकैबाट त्रिशूली नदीमा खस्यो। दुर्घटनामा ५ जनाले ज्यान गुमाए भने एक जना वेपत्ता छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी भावेश रिमालका अनुसार दुर्घटनामा गोरखा नगरपालिका–४ फिनाम की ७० वर्षीया जुनकुरी रोका, ४१ वर्षीया हरिमाया उपरकोटी, २८ वर्षीया अञ्जना रोका, ३५ वर्षीय अर्जुन सिर्मल, ८ वर्षीय आगमन उपरकोटीले ज्यान गयो। गोरखाकै फिनामका दिवश रोका अहिलेसम्म वेपत्ता छन्।

प्रहरीका अनुसार उनीहरु पारिवारिक कार्यक्रम सकेर काठमाडौंबाट तीन वटा गाडीमा फर्किंदै थिए। अन्य दुई गाडी मुग्लिन आइपुगेको धेरैबेरसम्म पनि नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए। खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा झरेर हेर्दा ट्याक्सी खसेको भेटिएको थियो।

जानकारी अनुसार गोरखा नगरपालिका–७ पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भयो। उपचारका क्रममा काठमाडौँमा निधन भएका शङ्करको पशुपति आर्यघाटमा दाहसंस्कार गरियो। त्यसैका लागि शंकरकी आमा जुनकिरीसहित परिवारका सदस्य र आफन्त पशुपति आर्यघाटमा पुगेका थिए।

अल्पायुमै छोराको निधनले मर्माहत भएकी जुनकिरी दाहसस्ंकारको काम सकेर गाउँमै काजकिरिया गर्न फर्किदै थिईन। जुनकिरी, उनका दुई छोरी, ज्वाइँ, छोरा र नाति चढेर फर्कंदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेर दुर्घटनामा पर्यो।

यो घट्नाले रोका परिवारमा एकपछि अर्को बज्रपात परेको छ। दुर्घटनामा ज्यान गुमाउने हरिमाया जुनकिरीकी जेठी छोरी, अञ्जना रोका कान्छी छोरी, अर्जुन सिर्मल माइला ज्वाइँ, आगमन नाति (मृतक हरिमायाका छोरा) हुन। दुर्घटनामा परी बेपत्ता भएका दिवस रोका क्यान्सर रोगबाट निधन भएका शङ्करका छोरा हुन्।

मृतक पाँचै जनाको शव अहिले गोरखा अस्पतालमा शव परीक्षणका लागि राखिएको वडाध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए। गाउँमा एकै पटक ६ जनाको ज्यान गएको र १ जना बेपत्ता भएको घटनाले सिङ्गो पौवाखेत शोकमा डुबेको उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट