साली प्रकरणले विवादमा परे कोशीका मुख्यमन्त्री केदार कार्की

विराटनगर– पार्टीभित्र विद्रोह गरेर कोशी प्रदेश सरकारको नेतृत्वमा पुगेका मुख्यमन्त्री केदार कार्की ‘साली प्रकरण’ले विवादमा परेका छन्। जंगली हात्ती प्रभावित क्षेत्रमा ‘पदयात्रा’ गरेर चर्चा कमाएका मुख्यमन्त्री कार्कीको त्यो भन्दा वढि चर्चाका ‘साली प्रकरण’ ले भईरहेको छ।

प्रदेशको पर्यटन विकास आयोजनामा आफ्नी साली शोभा बस्नेतलाई कम्प्युटर अपरेटरमा नियुक्ति दिलाएपछि कार्की विवादमा परेका हुन। पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको उक्त आयोजनामा वस्नेतले गत पुसमा नियुक्ती पाएको खुलेको छ।

सो मन्त्रालयमा माओवादी केन्द्रका नेता गणेश उप्रेती मन्त्री छन्। उप्रेतीले कर्मचारी नियुक्तिको तयारी गरिरहेका बेला मुख्यमन्त्री कार्कीले आयोजना प्रमुख कुलदीप यादवलाई नियुक्तिका लागि बस्नेतको नाम पठाएका थिए।

यादवले भने कम्प्ययुटर अपरेटरमा नियुक्त बस्नेत र मुख्यमन्त्रीको सम्बन्धबारे आफूलाई थाहा नभएको बताएका छन। आयोजनाले सबै कर्मचारी करारमा नियुक्त गरेको र त्यसका लागि विज्ञापन भने नगरिएको उनले खुलाए।

उनका अनुसार आयोजनाले १४ जना इन्जिनियर र सवइन्जिनियर पनि प्रतिस्पर्धा बिना नै नियुक्ति गरेको छ। उनीहरुको करार अवधि २–२ महिनाको रहेको यादवले वताए। चालु आर्थिक वर्षमा पर्यटन विकास आयोजनाका लागि ८३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। यो आयोजनामार्फत प्रदेशका विभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्रमा पूर्वाधार निर्माणको काम भइरहेको छ।

आयोजनाका लागि १३ मंसिरमा पारित भएको कोशी प्रदेशको बजेटले पाचौं तहको कम्प्युटर अपरेटरको दरबन्दी सिर्जना गरेको थियो। सोही दरबन्दीमा मुख्यमन्त्री कार्कीले आफ्नी सालीलाई नियुक्त गर्न लगाएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट