३५ तोला सुन लुटेर १८ लाख फिरौती लिएका तत्कालिन डीएसपी ठगबहादुरलाई २ वर्ष कैद

काठमाडौं– बुटवल उपमहानगरपालिकामा सेवाग्राहीबाट झण्डै ३५ तोला सुन लुटेको आरोप लागेका नेपाल प्रहरी तत्कालिन डीएसपी ठगबहादुर केसीलाई भ्रष्टाचार मुद्दामा २ वर्षको जेल सजाय भएको छ। विशेष अदालतले मंगलबार उनलाई ८ लाख ५० हजार रुपैयाँ जरिवानासमेत हुने फैसला सुनाएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले केसीले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ङ) को कसूर गरेको ठहर गरेको छ।

सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम ठगबहादुरलाई २ वर्ष कैद र ८ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको जनाईएको छ। ईलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन कार्यालय प्रमुख केसीविरुद्ध गत १३ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

केसीले कार्यालय र अन्य प्रहरी कर्मचारीलाई जानकारी नै नदिई २५ मंसिर ०७९ मा बुटवल उपमहानगरपालिका–५, हाटबजार नजिकबाट सेवाग्राहीको ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लगेर १५ दिनसम्म राखेका थिए। उनले सुन फिर्ता गर्न रकम माग गरेको आरोप लागेपछि उनको कोठा खानतलासी गर्दा नगदसहित सुन बरामद भएको थियो।

८ लाख ५० हजार रुपैयाँ नगद र ९ लाख ५० हजार रुपैयाँको चेकसमेत गरी जम्मा १८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको थियो। विशेषमा मुद्दा दायर भएपछि उनी पदबाट बरखास्त भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट