आफु विरुद्धको फेसवुक स्ट्याटसमा कमेन्ट गरेको भन्दै विद्यार्थीमाथि हेडमास्टरको निर्घात कुटपिट

दमक– फेसवुक स्ट्याटसमा कमेन्ट गरेको निहुँमा झापाको कमल गाउँपालिका स्थित एक सामुदायिक विद्यालयको कक्षा ११ मा पढ्ने विद्यार्थी मरणासन्न हुने गरी कुटिएकी छिन्। यो गाउँपालिका २ महिनाअघि मात्र बालमैत्री गाउँपालिका घोषणा भएको हो।

कमल गाउँपालिका– ५ को मंगलमय माध्यमिक विद्यालयकी छात्रा निर्जला बास्कोटालाई विद्यालयका प्रधानाध्यापक मोहनकुमार वगालेले नै कुटपिट गरेका हुन। फेसवुकमा प्रअ वगालेलाई गाली गरेर लेखेको स्ट्याटसमा बास्कोटाले कमेन्ट गरेकी थिईन।

निर्जलाले भनिन्,–‘फेसबुकमा हेडसलाई गाली गरेर लेखेको एउटा स्टाटस थियो। त्यसमा मैले थोरै भएन र भनेर कमेन्ट गरेकी थिएँ। त्यही विषयमा हेडसरले अफिसमा बोलाएर खानेपानीको नालाले कुट्नुभयो।’ कुटपिटबाट बालिकाको खुट्टामा नीलडाम भएको छ।

यतिमात्रै नभएर आफुलाई विद्यालयबाटै निस्कासन गरिएको उनले वताईन। अभिभावक बोलाएर कागज गरेर आफुलाई विद्यालयबाट निकालिएको उनको गुनासो छ। ‘मलाई कुटेपछि बुबालाई बोलाएर कागजमा साइन गर्न लगाइयो। भोलिदेखि स्कुल नआउनु भन्नुभएको छ,’ उनले भनिन् ।

छोरीलाई कुटपिट गरेपछि तत्कालै आफूलाई विद्यालय बोलाइएको उनका बुबा नवराज बाँस्कोटाले बताए। ‘५ मिनेटमा जसरी पनि आइपुग्नुपर्छ, अरू म जान्दिनँ भन्दै फोन आयो। म जाँदा स्टाटसमा कमेन्ट गरेको कुरा निस्कियो। एउटा कागज गरेर मलाई दायाँ–बायाँ सही र ल्याप्चे पनि हनाए’– उनले भने।

फेसबुकमा स्टाटस लेख्ने केटालाई पनि आफनै अगाडि कुटपिट गरिएको नवराजले वताए। ‘गलत गरेको भए कानुनी रूपमा सजाय भोग्न तयार हो। तर, यसरी कुट्न पाइँदैन। यसरी कुट्ने हेडसरलाई कानुनी कारबाही हुनुपर्छ।’ उनले भने।

प्रधानाध्यापक बगालेले भने घटनाबारे बोल्न मानेनन्। उनले यहीबारेमा छलफल गर्न आफू इलाका प्रहरी कार्यालय दमकमा रहेको बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थ थापाले बालिकामाथि कुटपिट भएको स्वीकार गरे।

तर, यो विषय मंगलबार नै अभिभावकसँग कागज गरेर मिलाएको उनको दाबी छ। थापाले भने–‘हिजो अभिभावक नै आएर समझदारी कायम भएको रहेछ। कसले के स्वार्थमा के गरो भन्ने विषयमा हाम्रो आपत्ति हो। कुटपिट गलत भयो भन्ने कुरा मेरो पनि हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट